चितवन। प्रतिनिधि सभा विघटनप्रति चितवनका पाँच विद्यार्थी संगठनले भत्र्सना गरेका छन। पाँच विद्यार्थी संगठनले आज (सोमबार) संयुक्त प्रेस वक्तव्य जारी गर्दै उनीहरुले शशक्त आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् । वक्तव्यमा नेपाल विद्यार्थी संघ (नेविसंघ) चितवनका अध्यक्ष सूर्य ढकाल, अखिल क्रान्तिकारीका जिल्ला संयोजक अबिनास रम्तेल, अनेरास्वबियुका अध्यक्ष साकार लामा, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष अनुज जोशी र अखिल (छैठौ ) का अध्यक्ष कमल आचार्यले हस्ताक्षर गरेका छन् ।
सर्वोच्च अदालत पुनःस्थापना गरेको प्रतिनिधि सभा दोस्रो पटक विघटन सरकारद्धारा सार्वभौम जनतामाथि गरिएको निरकुंश र अधिनायकवादी डकैती भएको वक्तव्यमा उल्लेख छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर संविधानमाथि नै प्रहार गरेको पाँचै विद्यार्थी संगठनले आरोप लगाउंँदै रोष प्रकट गरेका छन ।
प्रधानमन्त्री र राष्ट्रपतिको मिलोमतोमा संसदीय मुल्य, मान्यता विपरित संसद विघटनले वर्तमान सरकारको असफलता प्रमाणित भएको उनीहरुको जिकिर छ । वक्तव्यमा उनीहरुले शशक्त आन्दोलनको कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।
‘कोरोना नियन्त्रणमा ध्यान नदिएको कारण अस्पतालमा बेड, अक्सिजन र औषधिको हाहाकार मच्चिरहेको अवस्थामा मध्यवधि निर्वाचनको घोषणा देश र जनताप्रतिको गैरजिम्मेवारीको पराकाष्ठ हो भने जनताको स्वास्थ्यमाथिको गम्भीर खेलवाड हो ।’ वक्तव्यमा भनिएको छ । सरकारले जनतामाथि गरेको स्वास्थ्य स्वास्थ्य अपराध तथा संसद विघटनका विरुद्ध एक जुट हुँदै आ–आफ्नो ठाउँबाट प्रतिरोध गर्नका लागि शशक्त आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउने उनीहरुले चेतावनी दिएका छन । संसद विघटन तथा लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि अघि बढ्न पनि आम जनसमुदाय तथा विद्यार्थीहरुलाई उनीहरुले आह्वान गरेका छन ।