चितवन ।यहाँको भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र यहाँका दुई मेडिकल कलेज अस्पतालमा मात्रै १३२ जना स्वास्थ्यकर्मी दोस्रो लहरको कोरोना संक्रमणमा परेका छन्।
स्वास्थ्य कार्यालय चितवनसँग जिल्लाभर कति स्वास्थ्यकर्मीमा संक्रमण देखियो भन्ने विषयमा एकीन तथ्यांक नभए पनि चारवटा अस्पतालबाट जानकारी लिँदा १३२ जना स्वास्थ्यकर्मी संक्रमित भएको देखिएको हो।
हाल चितवनमा सबैभन्दा धेरै चितवन मेडिकल कलेज अस्पतालका स्वास्थ्यकर्मी संक्रमित भएका छन्। चितवन मेडिकल कलेज अस्पतालमा मात्रै ६३ जना स्वास्थ्यकर्मी दोस्रो लहरको कोरोना संक्रमणमा परेका छन्। तर, अघिल्लो वर्षको तुलनामा यसवर्ष संक्रमित भएका स्वास्थ्यकर्मीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
यसवर्ष अधिकांश स्वास्थ्यकर्मीले कोरोना भाइरसविरुद्धको खोप लगाएकाले पनि जटिल खालको संक्रमण नदेखिएको स्वास्थ्यकर्मीहरुको अनुमान छ। संक्रमण देखिएका कुनै पनि स्वास्थ्यकर्मीलाई अस्पताल भर्ना गर्न नपरेको कोभिड १९ सञ्चार संयोजक डा किशोर अधिकारीले जानकारी दिए।
‘हामीले अस्पतालमा कार्यरत कुनै स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएर घर बाहिरै बस्नुपर्ने भए पनि भरतपुर ५ स्थित कैलाशनगरमा आइसोलेसनको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘तर, हालसम्म सबैजना घरमै आइसोलेसनमा बसिरहनुभएको छ।’ अघिल्लो पटक बढी डर हुनु र पर्याप्तमात्रामा स्वास्थ्य सुरक्षाका सामग्री नपाउनुले पनि संक्रमण बढी देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
भरतपुर अस्पतालमा २० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमित भए पनि अस्पताल भर्ना भएर बस्नुपर्ने अवस्थामा कोही पनि नरहेको अस्पतालका प्रवक्ता डा युवानिधि बसौलाले जानकारी दिए। उनका अनुसार अस्पतालमै बस्नुपर्ने भए पनि स्वास्थ्यकर्मीको लागि छुट्टै आइसोलेसन तयार छ। तर, सबैजना सामान्य अवस्थामा रहेका उनले बताए।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि ४१ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित स्वास्थ्यकर्मीको अवस्था सामान्य रहेको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले जानकारी दिए। ‘सबैजना स्वस्थ हुनुहुन्छ,’ उनले भने, ‘यो पटक अस्पताल भर्ना गर्नुपर्ने अवस्था कुनै पनि स्वास्थ्यकर्मीमा देखिएको छैन।’
कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा हाल आठ जना स्वास्थ्यकर्मी उपचाररत छन्। पछिल्लो भेरियन्ट आएपछिको छुट्टै तथ्यांक नराखे पनि हालसम्म ५० जना स्वास्थ्यकर्मी संक्रमित भएको अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए। यसपटक स्वास्थ्य सुरक्षा सतर्कतासम्बन्धी जानकारी अलि बढी भएकोले गम्भीर खालका संक्रमण नदेखिएको उनले बताए।
चितवनमा १३२ स्वास्थ्यकर्मी कोरोना संक्रमित
चितवनमा १३२ स्वास्थ्यकर्मी कोरोना संक्रमित
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु