बागलुङ। बागलुङ नगरपालिकाको सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुगेको छ । नगरपालिकाले संघीयता कार्यान्वयन हुनुअघि स्वास्थ्य चौकी नभएका वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर सबै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको हो ।
स्वास्थ्य संस्था नभएको बागलुङ नगरपालिका १, ३ र ४ नम्बर वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरी स्वास्थ्य सेवा शुभारम्भ गरिएको छ । वडा नम्बर १ मा गत आर्थिक वर्षदेखि स्वास्थ्य केन्द्र सञ्चालन गरिएको थियो । वडा ३ र ४ मा चालु आर्थिक वर्षमा स्वास्थ्य केन्द्र सञ्चालन गरिएको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । बानेपा –३ को खहरे र बानपा–४ को उपल्लचौरमा सेवा केन्द्र छ । बानपा–२ मा धौलागिरि अस्पताल रहेको हुँदा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छैन । अन्य वडामा स्वास्थ्य चौकी छन् ।
‘संघीयता कार्यान्वयन पछि नयाँ संरचना निर्माणको क्रममा छौँ,’ बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले भने, ‘नागरिकको आधारभूत स्वास्थ्य सेवाप्रति हामी गम्भीर छौँ ।’
हाल बानपा–३ खहरेमा निर्माण भएको स्वास्थ्य केन्द्र भवन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ६१ लाख रुपैयाँ अनुदानमा निर्माण गरिएको हो । आर्थिक वर्ष २०७६ मा निर्माण थालिएको भवन आर्थिक वर्ष २०७७ मंसिरमा सकिएको थियो । कोरोनाको कारण भवन उद्घाटन तथा सेवा सञ्चालनमा ढिला भएको हो ।
नगरपालिकाले वडा नम्बर–१३ पैयुपाटामा नगर अस्पतालको सेवा सुरु गरेको छ । कुनै पनि नागरिकलाई आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपर्ने गरी नगरपालिकाले योजना, कार्यक्रम तथा बजेट निर्माण गरेको मेयर पौडेलको भनाई छ ।

