चितवन । यातायात व्यवस्था सेवा कार्यालय चितवनले आजबाट पेपरकार्ड लाइसेन्स नवीकरण सेवा सुरु गरेको छ ।
कार्यालय प्रमुख विनोद पौडेलले आज ३० जनाले पेपरकार्ड लाइसेन्स नवीकरणको लागि टोकन लिइसकेको जानकारी दिए । उनले भने, ‘टोकन लिइसकेका ३० जनाको पेपरकार्ड लाइसेन्स नवीकरण आज गर्दैछौँ, यसको सेवा सुरु भइसकेको छ ।’
पौडेलका अनुसार सेवाग्राहीले अनलाईन सेवा मार्फत इ–टोकन प्रणाली अनुसार सेवाको समय निश्चित गर्न सक्नेछन । सेवालाई प्रविधि मैत्री बनाउने उद्देश्यसहित र बढी भीडभाड नहोस् भन्ने हेतुले अनलाइनमार्फत सम्पूर्ण सेवा सुरु गरिएको जानकारी दिए । यस कार्यालयमा नवीकरण गर्ने सेवाग्राहीको लाइसेन्स सम्बन्धित प्रदेशको या स्थायी बसोबास बाग्मती प्रदेश या सम्बन्धित जिल्लाको हुनुपर्ने छ ।
यसका लागि इ–टोकन लिइसकेपछि इ–टोकन नम्बरको क्यूआर कोड , सक्कल र फोटोकपी सहितको चालक अनुमति पत्र, सक्कल नागरिकता र प्रतिलिपि नागरिकता चाहिनेछ । नागरिकताको ठेगाना र चालक अनुमतिपत्र बागमती प्रदेशबाट जारी नभएमा बसाईसराईको प्रमाणपत्रको साथ नवीकरण गर्न सकिने पौडेलले बताए ।
सरकारी कर्मचारीको हकमा कार्यरत कार्यालयको सिफारिस सहित नवीकरण गर्न सकिनेछ । प्रदेशको चालक अनुमतिपत्रबाट संकलित राजश्व सम्बन्धित प्रदेशमै संकलित होस भन्ने हेतुले संघीय सरकारको यातायात व्यवस्था विभागको कार्यविधि अनुसार नवीकरण गरिने उनले बताए ।

