चितवन । भरतपुर १० मा रहेको अर्किड कलेजको बसको ठक्करबाट खैरहनी २ का रामहरि श्रेष्ठको मृत्यु भएको छ । चितवन प्रहरीका अनुसार ५५ वर्षका मोटरसाइकल चालक श्रेष्ठको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा बुधबार साँझ ७ बजे मृत्यु भएको हो ।
ना १ क ४७९८ नम्बरको अर्किड कलेजको बसले सोही दिशातर्फ जाँदै गरेको ना ६१ प ४४०८ नम्बरको मोटरसाइकललाई बाइपास सडकस्थित डिभिजन सडक कार्यालयनजिकै ठक्कर दिएको चितवन प्रहरीले जनाएको छ ।
दर्घुटनामा परी सोही मोटरसाइकलमा सवार अर्का घाइते ५४ वर्षका पुरन श्रेष्ठको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीको भनाइ छ । दुर्घटना बुधबार साढे ६ बजे भएको थियो । कलेज बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

