चितवन । चितवनमा कोरोना संक्रमितको संख्या थपिएसंगै मृत्युदर पनि उच्च छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार, पछिल्लो एक सातमै जिल्लाका २७ जनाले ज्यान गुमाएका छन् ।
एक सातामा १ हजार २ सय ७२ जना संक्रमित पनि थपिएका छन् । चितवनमा पहिलो पटक एक बर्षअघि जेठ महिनामा भरतपुरका एक बृद्धको संक्रमणबाट मृत्यु भएको थियो । त्यसयता सवैभन्दा धेरै बैशाख महिनामा मात्रै ५० जनाको संक्रमणबाट मृत्यु भएको छ । गत कात्तिकमा उच्च विन्दुमा पुगेको मृत्युदर क्रमश घट्दै फागुन महिनामा आउँदा एक जनाको मात्र मृत्यु भएको थियो ।
गत जेठ महिनामा एक जनाको मृत्युपछि जिल्लामा असार र साउन महिनामा एक जनाको पनि मृत्यु भएको थिएन । भदौ महिनामा आउँदा १६, असोजमा २२, कात्र्तिकमा ४४, मंसिरमा १६, पुसमा ५, माघमा ४, फागुनमा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
२०७६को चैतदेखि शुक्रवार साँझसम्म १ सय ८९ जनाको मृत्यु भएको छ । जसमा १ सय १९ जना र ७० जना महिलाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बढी ५० बर्ष भन्दा माथिका बढी छन् । तर, ३० देखि ५० बर्ष उमेर समुहका ५० जनाले ज्यान गुमाएका छन् । ३० बर्ष मुनिका ४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जारी गरेको सूचनामा उल्लेख छ ।