चितवन । चितवनमा मिलिनियम च्यालेन्स कर्पोरेसन एमसीसी खारेजीको माग राखेर चितवन बन्द गराउँदै हिड्ने लगभग एक दर्जन बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले नारायणगढबाट बन्द गराउँदै हिडेका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राष्ट्रिय जनमोर्चा चितवनका जिल्ला अध्यक्ष डम्बर पुरी, विप्लब नेतृत्वको नेकपा माओवादीका चितवन इन्चार्ज सन्देश पौडेल, बैद्य माओवादीका धननाथ सापकोटा, बद्री अधिकारी, प्रकाश ढकाल लगायत अन्य कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति बनाएर जिल्लामा सक्रिय १३ दलहरुले आज चितवन बन्दको घोषणा गरेका थिए । बन्दको प्रभावले जनजिवन कष्टकर बनेको छ ।
संघर्ष समितिले चितवनमा हस्ताक्षर अभियान र हिजो मसाल जुलुस समेत निकालेको थियो ।

