काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । शेरबहादुर देउवालाई आवश्यक मतमा ८२ मत पुगेन ।
आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ ।
आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।
अर्का उम्मेदवार शेखर कोइरालाले १७४९ मत पाएका छन् । अब दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।

