चितवन । भारतीय नागरिकले चितवनमा प्रतिबन्धित नेटवर्क व्यवसाय चलाएको पाइएको छ । चितवन प्रहरीले गोप्य सूचनाको आधारमा प्रतिबन्धित नेटवर्क व्यवसाय चलाउँदै गर्दा दुई भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ ।
भरतपुरको सिजी ल्यान्डमार्कको छैटौ तलामा केही मानिसलाई राखेर प्रतिबन्धित नेटवर्क व्यवसायको सेमिनार चलाउँदै गर्दा चितवन प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भरतपुर २६ बस्ने वर्ष ३६ को सरोज घिमिरे, भारत राजस्थान बस्ने वर्ष २८ को जितेश बर्मा, भारत हरियाणा बस्ने वर्ष ३४ को अंकित शर्मा रहेका छन् । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले मंसिर १७ गते साँझ तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
विभिन्न झुट्टा आश्वासन तथा विश्वास दिलाई भ्रममा पारेर व्यक्तिगत लाभको लागि आफ्नो तथा आफूले भनेको व्यक्तिगत खातामा पैसा जम्मा गर्न लगाइरहेको अवस्थामा रंगेहात तीन जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरुको साथबाट नेटवर्किङ बिजनेशको सदस्यता बनाउन प्रयोग गर्ने गरेको ल्यापटप (थान १) उनीहरूले प्रयोग गर्ने गरेको मोवाईल (४ थान) सहित तीन जनालाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धानको गरिएकोमा प्रारम्भिक अनुसन्धान गरिएको चितवन प्रहरीले जनाएको छ । पक्राउ पर्नेको बैंक खातामा नेटवर्किङ व्यवसायको सदस्य बनाई २७ लाख ५० हजार रुपैयाँ गएको देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नेटवर्किङ ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी चितवन अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यस कसुरमा उनीहरु दोषी ठहर भए मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २१ दफा २४९ उपदफा ३ (ग) बमोजिम ७ वर्ष सम्म कैद र ७० हजार रुपैयासम्म जरिवाना हुन सक्नेछ ।

