पोखरा । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरा छ भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । किनकी संरचनाको अभावमा अस्पतालले राम्रो काम गर्न पाइरहेको छैन् र सेवा विस्तार गर्न सकिरहेको छैन् । अस्पतालले अहिले ओपिडी र आकस्मिक सेवा मुस्ताङचोकबाट दिदै आएको छ ।
भर्ना गरेर राख्नुपर्ने बिरामीलाई अहिले नेपाल प्रहरीको शसत्र प्रहरी गणमा राख्नुपर्ने बाध्यता रहेको छ । यता प्रहरी अस्पतालको प्रशासन र प्रशासनिक काम भने प्रदेश प्रहरी कार्यालयबाट हुन्छ । एक विरामीले उपचारका लागि ३ स्थानमा जानुपर्ने बाध्यता प्रहरी अस्पतालमा देखिएको छ । त्यो सबै संरचना अभावका कारण खडकिएको हो ।

तैपनि १५ शैयाको प्रहरी अस्पताल अहिले पोखरामा संचालनमा आइरहेको प्रहरी अस्पतालका प्रमुख प्रहरी नायब उपरीक्षक डा.नर्मन लामिछानेले जानकारी दिए । अस्पतालमा अहिले ३१ जना प्रावधिकको दरबन्दी रहेकोमा ११ जना मात्र रहेका छन । ५ नर्सको दरबन्दी रहेको अस्पतालमा २ नर्स कार्यारत रहेकी छन् । ओपिडी विशेषज्ञ भने प्रहरी अस्पतालका प्रमुख डिएसपी डा.नर्मन लामिछाने रहेका छन । समय समयमा उनकै आग्रहमा विभिन्न ७ विशेषज्ञ पनि प्रहरी अस्पतालमा आउने गर्छन् । समानको अभावमा अहिले अस्पतालमा सामान्य चिरफार तथा हाड भाचिएको पलाष्टर गर्ने, रगत परिक्षण, करिव ३ सय प्रकारका औषधी निशुल्क पाइन्छ । अस्पतालमा एक एम्बुलेन्स पनि रहेको छ ।
एक्सरे सेवा संचालनमा
आइतबार देखी प्रहरी अस्पतालमा एक्सरे सेवा संचालनमा आएको छ । यस भन्दा अघि प्रहरी अस्पतालमा एक्सरे सेवा नएका कारण एक्सरे गर्नका लागि बाहिर जानुपर्ने अवस्था थियो । अहिले अस्पताल त्यो अवस्थाबाट मुक्त भएको लामिछानेले बताए ।

भवन निर्माण सकिए लगतै ५० शैय्या
अधिल्लो आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले प्रहरी अस्पतालको भवन निर्माणका लागि १ करोड रुपैँया बिनियोजन गरेको थियो । उक्त बजेटले अहिले भवन निर्माण काम अघि बढिरहेको छ । उक्त भवन निर्माण पुरा भएपछी ५० शैय्याको अस्पताल संचालन गर्न सकिने डा. लामिछाने बताउँछन।


