चितवन। चितवनमा पछिल्लो २४ घण्टाभित्र २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन जिल्लाका मात्रै ६ जना र बाँकी चितवनका विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका अन्य जिल्लाका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
भरतपुर अस्पतालमा कपिवलवस्तु, धनुषाका १–१ जना, नवलपरासीका २ जना र चितवनका ३ जना गरी ७ जनाको मृत्यु भएको छ ।कार्यालयका अनुसार चितवन मेडिकल कलेजमा चितवन, रुपन्देही, तनहुँका १–१ जना, नवलपुरका २ जना गरी पाँच जना र पुरानो मेडिकल कलेजमा चितवनका २ जना, नवलपुर दाङ र कपिलवस्तुका १–१ जना गरी ५ जनाको मृत्यु भएको हो । भरतपुर क्यान्सर अस्पतालमा नवलपरासी, गुल्मी र रुपन्देहीका १–१ जना गरी तीन जनाको मृत्यु भएको छ ।
बुधबार ५१ जना निको भएका छन् । जिल्लाका विभिन्न अस्पतालका आइसीयूमा २ सय ६० जना, भेन्टिलेटरमा ५९ जना र एचडीयूमा ९६ जना उपचाररत रहेका छन् । अहिले ५ सय २१ जनाको चितवनका विभिन्न अस्पतालहरुमा उपचार चलिरहेको छ ।जिल्लामा बुधबार मात्रै २ सय ३५ जना थपिएसँगै जिल्लाभर कोभिड–१९ पुष्टि हुनेको संख्या १२ हजार ७२ पुगेको छ ।
जिल्लामा हालसम्म ७ हजार ५ सय १ जना निको भएका छन् भने १ सय ८२ जनाको मृत्यु भएको छ ।जिल्लामा अझै ४ हजार ३८९ जना निको हुन बाँकी रहेका छन् । त्यसमध्ये ४ हजार १ सय ६७ जना होम आइसोलेसनमा, २ सय १३ जना अस्पतालका आइसोलेसनमा र ९ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।