काठमाडौं । फिल्म ‘कठपुतली’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा राजाहरुको शासन समयमा दरबारभित्र हुने घट्नाक्रमलाई देखाइएको छ । हरर् विधामा निर्माण भएको यो फिल्म आगामी पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको हो ।
यस फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् भने पृथ्वी राना मगर निर्माता हुन् । फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मलाई अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका छन् । फिल्मकी कार्यकारी निर्माता समेत रहेकी मल्लले फिल्म हरर् विधामा निर्माण भए पनि मौलिक कथामा बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हरर जनरामा हाम्रो पहिलो प्रयास हो ।
फिल्म हरर भए पनि यसले हाम्रै माटोको कथा भन्छ ।’ फिल्मले भूत प्रेत, तन्त्र मन्त्रको कथा भन्नेछ । कार्यक्रममा कलाकार मिथिला शर्माले फिल्ममा काम गर्न कथावस्तु र चरित्रले आफूलाई आकर्षित गरेको बताउनुभयो । फिल्मले नारी पात्रलाई सशक्त रुपमा प्रस्तुत गरेको शर्माले बताउनुभयो । लामो समयपछि अभिनयमा फर्कनुभएकी उषा रजकले पहिलो पटक हरर् फिल्ममा काम गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्वपूर्ण अवार्ड जितेको ‘कठपुतली’ को सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ एपका सञ्चालक सागर खरेल फिल्ममा बजार ब्यवस्थापकको रुपमा जोडिएका छन् ।

