चितवन । चितवनको कटाव दि स्कार्पमेन्टको ‘माया के हो’ को अफिसियल म्युजिक भिडियोको ग्राण्ड प्रिमियर भएको छ । एडम्स लाउन्जमा आयोजित एक कार्यक्रमका बिच प्रिमियरसँगै गीत सार्वजनिक गरिएको हो ।
प्रिमियरसँगै गीत उक्त कटावको युट्युब च्यानलमा पनि सार्वजनिक भएको छ । एक दशक अघि स्थापित ब्याण्डले यो गीत तयार पारेको ७-८ वर्ष भईसके पनि म्युजिक भिडियो भने हालै मात्र सार्वजनिक भएको हो ।
अमृत गुरुङले निर्देशन गरेको भिडियोमा कन्टेन्ट क्रियटर सविन मगर र प्रमिशा सिग्देल फिचर्ड छन् । दुबैको यो डेब्यु म्युजिक भिडियो हो । निर्देशक गुरुङले एक डेढ वर्षदेखि योजना गरेर भिडियो तयार गरिएको बताए ।
विविध कारणले अफिसियल म्युजिक भिडियो निर्माणमा ढिला भएको ब्याण्डका भोकलिस्ट प्रविण लोप्चनको भनाइ छ । ब्याण्डका पूर्व सदस्य बिधान रानाभाटले लेखेको गीतको भिडियोको सह निर्देशक किरण ढकाल हुन् भने सिनेमाटोग्राफर सन्देश मगर र लवसन हुन् । हाई स्टेसनले भिडियो निर्माण गरेको हो । ग्राण्ड प्रिमियरमा कटावसँगै गायक गोभिन पुन र अध्याय ब्याण्डले पनि लाइभ प्रस्तुति दिएका थिए ।

