चितवन । चितवनमा पछिल्ला बर्षहरुमा सुन्तलाको उत्पादन घट्दै गएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार अघिल्ला बर्षहरुभन्दा यो बर्ष २५ प्रतिशतले सुन्तला उत्पादनमा ह्रास आएको हो । चितवनको पहाडी क्षेत्र ईच्छाकामना गाउंँपालिकाको वडा नं २, ३, ४, ५, ६ मा किसानहरुले सुन्तलाखेती गर्दै आएका छन् ।
गाउंँपालिकाको तामिन कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिबहादुर नेपालले केही वर्षयता सुन्तलाका बोट मर्न थालेसंँगै उत्पादनमा ह्रास हुंँदै गएकोे बताए । ‘ कहिले असिना र हावापानीले फूल झारेर पूर्ण रुपमा फल लाग्दैन उनले भने, कहिले फल्ने र पाक्ने बेलामा रोग लागेर उत्पादन हुंँदैन ।’ यहांँको स्थानीय जातको सुन्तलाको माग र फाईदा राम्रै भएपनि बर्षैपिच्छे उत्पादन घटिरहेको उनको भनाई छ । राम्रै हावापानी र मलबीउको व्यवस्थापन गर्दा पनि बोट सुक्ने, पहेंँलो हुदै गएका कारण उत्पादन हुन नसकेको उनले बताए । अघिल्लो बर्ष झण्डै ९ प्रति हेक्टर ८ दशमलब ८ टनको हाराहारीमा घटेको र अहिलेपनि प्रति हेक्टर ८ टनले उत्पादनमा गिरावट आएको ज्ञान केन्द्रले जनाएको छ ।
ज्ञान केन्द्रका अनुसार उक्त गाउंँपालिकामा सुन्तलाखेती योग्य जमीन २५० हेक्टर भएपनि करीब १२५ मा मात्रै हुंँदै आएको छ । शुरुवाती क्षणमा सुन्तलाको उत्पादन र उत्पाकत्व बृद्धि भएपनि पछिल्ला बर्षहरुमा यसको उत्पादन घट्दो क्रममा छ । ज्ञान केन्द्रका सूचना अधिकारी मिन बहादुर पुनले यो बर्ष प्रति हेक्टर ८ टनले सून्तला उत्पादनमा ह्रास हुंँदै गएको बताए । ‘उत्पादनमा मात्र होइन प्रति हेक्टर उत्पाकत्वमा पनि ह्रास आएको छ ।’ सूचना अधिकारी पुनले भने ।
उनका अनुसार सुन्तलाको बोट पुरानो हुंँदै जानु, किसानमा बगैचा व्यवस्थापनको ज्ञानको कमी, सिंचाईको अभाव लगायत निशृधाज्ञाका कारण सुन्तला ब्लक कार्यक्रमलाई सुचारु गर्न नसकिएका कारण पनि उत्पादनमा ह्रास आएको हो । ‘यी उल्लेखित प्रमुख कारण हुन नै उनले भने, सुन्तला उत्पादनलाई प्रर्वद्धन गर्न राज्यको ध्यान नपुगेको र गाउंँपालिकाले कुनैपनि बजेट विनियोजन नगरेकोले पनि यो समस्या आएको हो । ’ एउटै प्रकारको फलफूल विरुवा कलमी नगरी उत्पादन घट्ने र रोगको जोखिम पनि उत्तिकै हुने पुनको भनाई छ ।
कृषिविज्ञका अनुसार कुनैपनि अन्नबालीमा एकैप्रकारको बीउ र वागवानी बाली नियमित कलमी नगरिकन विरुवा रोप्दा त्यसले अपेक्षित उत्पादन दिन सक्दैन ।
१ देखि २ बर्षको फरक पारेर कलमी गरेको फलफूलको विरुवा प्रतिस्थापन गर्दा उत्पादन पनि बढ्ने र रोगपनि कम लाग्ने गरेको उनीहरुको भनाई छ ।
कृषि ज्ञान केन्द्रले इच्छाकामनाको वडा नम्बर ५ मा रहेको तामिन क्षेत्र, वडा नम्बर २ मा रहेको तल्लो काउले क्षेत्र, ३ नं वडामा रहेको ढाप र साठीमुरेको केही भागलाई सुन्तला पकेट क्षेत्र घोषणा गरेको थियो । यहांँ सबै पकेट क्षेत्रलाई मिलाएर झन्डै सय हेक्टरलाई ज्ञान केन्द्रले सुुन्तलाको ब्लक क्षेत्र घोषणा गरेको छ ।
इच्छाकामनाको वडानम्बर ३ मा सबैभन्दा बढी सुन्तलाखेती गरिएको छ । यहांँ एक सय बढी बिघामा सुन्तलाखेती गरिएको अनुमान छ । यसैगरी वडा नम्बर ५ मा ५० बिघामा, वडा नम्बर २ मा करीब ३० बिघा बढीमा सुन्तलाखेती गरिएको छ । यहांँ उत्पादन भएका सुन्तला रसिलो र स्वादिलो हुने गरेकोले पनि यसको माग उत्तिकै छ । विशेषगरी मुग्लिन बजार, पोखरा एवं काठमाडौंमा बिक्री हुने गर्दछ ।


