चितवन। चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले ७५ सय रुपैयाँमा कोरोना संक्रमितको शव जलाउने व्यवस्था मिलाइएको बताएका छन् । कोरोना संक्रमणबाट मृत्यु भएका संक्रमितको शवलाई शवदाहस्थलसम्म पुर्याउन नि:शुल्क शवबाहनको पनि व्यवस्था गरिएको उनले बताए ।
यसअघि एउटा शव ६ जना कामदारले जलाउने गरेकोमा त्यस संख्यालाई घटाएर ३ जनाले नै जलाउने व्यवस्था मिलाइएको उनले बताए । तीन जनालाई प्रति व्यक्ति १५ सयका दरले चार हजार ५०० र दाउराको ३ हजार गरी ७५ सय रुपैयाँमा शव व्यवस्थापन गर्न निर्देशन दिइएको उनको भनाइ छ ।स्थानीय कामदारहरुले शव जलाउने र त्यसबापतको पारिश्रमिक लिने गरेका छन् । शव व्यवस्थापन गर्न भनेर जिम्मेवारी पाएको सेनाले शवदाहस्थलमा पुगेर शवलाई निकालेर सलामी दिएपछि शव जलाउने गरिन्छ।
संक्रमितको शव जलाउन पनि चर्को शुल्क तिर्नुपरेको समाचारहरु बाहिर आएपछि शव व्यवस्थापनमा लाग्ने खर्च घटाउन समन्वय गरिएको उनले बताए । यसअघि शव व्यवस्थापनमा ३० हजार रुपैयाँसम्म लाग्ने गरेको थियो । चर्को शुल्कको सामाजिक संजालहरुमा चर्को बिरोध भएको छ।
शव व्यवस्थापनको शुल्क घटाउन लायन्स क्लबसंग समन्वय गरेर नि:शुल्क शवबाहनको लागि नेपाली सेनाको टोलीलाई शवबाहन दिइएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । मृतकका आफन्तको सहमतिमा शवलाई गाड्न चाहेमा कुनै शुल्क नलाग्ने उनले बताए । ‘मृतकका आफन्त कोहि छैनन र भएर पनि शवलाई गाड्न स्विकृति दिन्छन् भने त्यसलाई गाड्न महानगरले एक्जाभेटर उपलब्ध गराएको छ । त्यस्तोमा शव अन्त्येष्टि गर्दा कुनै शुल्क लाग्दैन’, उनले भने ।
देवघाट क्षेत्र विकास समितिले शव जलाउने पुरानो ठाउँभन्दा वरै दियालो बंगलानजिक नारायणी नदि किनारमा संक्रमितको शव जलाउन ठाउँ उपलब्ध गराएको छ । नेपाली सेनाको टोलीले अस्पतालमा मृत्यु भएका संक्रमितलाई शवबाहनमा राखेर लैजान्छ । नि:शुल्क शवबाहनका लागि सेनालाई दिइएको शवबाहनको नम्बर ९८६३०२९१३२ मा सम्पर्क गर्न सकिने सेनाको टोली प्रमुख ललित कुमार चौधरीले बताए । शव व्यवस्थापनका लागि १० जना सैनिक तयारी अवस्थामा रहने उनले बताए ।
विभिन्न सामुदायिक वन र समिलहरुले बागेश्वरी चिकित्सालय परिसरमा लगेर दाउरा जम्मा गर्ने र देवघाट क्षेत्र विकास समितिले दाउरा कटानमचान र वितरणमा लाग्ने खर्च बापत एक चाङको तीन हजार लिने व्यवस्था गरिएको उनले बताए ।इचितवनबाट