चितवन । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ यतिबेला निकै दौडधुपमा छन् । कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका श्रेष्ठले आफ्नो प्रचारप्रसार अभियानलाई तीव्र पारेका छन् । उनी देशका सातै प्रदेशमा भोट माग्नको लागि आफ्ना प्रतिनिधिहरु खटाएका छन् । यतिबेला श्रेष्ठका प्रतिनिधिहरु सातै प्रदेशमा एकसाथ पुगेर जीतनारायण श्रेष्ठलाई भोट मागिरहेका छन् ।
नेपाली कांग्रेसमा हालसम्म चितवनबाट एउटा नेता पनि केन्द्रीय सदस्यमा पुगेका छैनन् । कांग्रेसको बाहुल्यता रहेको ठाउँ भए पनि चितवनले हालसम्म एउटा केन्द्रीय सदस्य नपाउनु दुर्भाग्य नै हो । ७५ वर्षको इतिहासमा श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भए भने ब्रेक नै हुन्छ । यसअघिका चितवनका कांग्रेस नेताले केन्द्रीय सदस्य बन्ने आँट गरेनन् या आँट गरेर पनि सकेनन् या त चितवनलाई अवसर दिइएन । यो समीक्षाको पाटो बन्ला, तर नेता श्रेष्ठले केन्द्रीय सदस्यमा उठ्ने जुन आँट गरेर देश दौडाहामा मत माग्नको लागि प्रतिनिधि खटाएका छन्, यसलाई सकारात्मक रुपमा लिइएको छ ।
प्रदेशमा पार्टीको निर्वाचन भइरहँदा निर्वाचन भएका सबै प्रदेशमा केन्द्रीय सदस्यमा श्रेष्ठलाई निर्वाचित गराउन उनी र उनका प्रतिनिधि पुगेका छन् । श्रेष्ठ चितवनका प्रभावशाली नेताको रुपमा चिनिन्छन् । नेपाली कांग्रेस चितवनको सभापतिसमेत रहेका श्रेष्ठ जुझारु युवा नेता हुन् । स्पष्ट वक्ताको छवि बनाएका श्रेष्ठले यसअघिको संघीय निर्वाचनमा बागमती प्रदेश सांसदमा पराजय भएका थिए । चितवन कांग्रेसको नेतृत्व सम्हाल्दा श्रेष्ठको आलोचना सायदै सुनियो ।
‘जुझारु युवा नेता हुन् श्रेष्ठ । उहाँले युवाहरुको बढी भोट खानुहुन्छ । उहाँको आक्रामक प्रचारशैलीले पनि उहाँको जित नजिक छजस्तो मलाई लाग्छ । प्रखर वक्ता, कम उमेरमा जिल्ला सभापति बन्न सफल भएका श्रेष्ठले आफ्नो राजनीति छवि उच्च बनाएका छन्’ कांग्रेसका एक जिल्ला नेताले भने, ‘उहाँले जित्ने सम्भावना प्रवल रहेको छ, माहोल उहाँको पक्षमा छ, चितवनको इतिहास कोर्ने अवसर उहाँले पाउनुहुन्छ । चितवनको पहिलो केन्द्रीय सदस्य बन्नुहुन्छ ।’
नेता श्रेष्ठले बागमती प्रदेशमा प्रचारको नेतृत्व आफैले गरेका छन् । जिल्लाजिल्ला पुगेर मत मागिरहेका छन् । प्रदेशमा उनका प्रतिनिधिहरु पुगेर प्रचारप्रसार गरेका छन् । गण्डकी प्रदेशको अधिवेशनमा श्रेष्ठको प्रचार गर्न पुगेका भिष्म अधिकारीका अनुसार त्यहाँ चार वटा ब्यानर टाँगेर दुई हजारभन्दा बढीलाई केन्द्रीय सदस्यमा श्रेष्ठलाई जिताउन मत मागिएको छ । अधिकारीको समूहले कार्ड वितरण गर्दै भोट मागेको थियो ।
श्रेष्ठको प्रचारका लागि प्रदेश नं १ को विराटनगर पुगेको टोलीले प्रदेश अधिवेशन स्थल वरपर चार वटा ब्यानर टाँगेर प्रचार सामग्री वितरण गरेको थियो । सभापति श्रेष्ठले अधिवेशन भएका सबै प्रदेशका स्थलहरुमा प्रतिनिधिहरुले व्यानर टाँगेर कार्ड वितरण गरेको बताए । उनले भने–“चितवनबाट मेरो उम्मेदवारी केन्द्रीय सदस्यमा छ भन्ने जानकारी दिन म र साथीहरु जुटेका हौं ।”

श्रेष्ठले जनजातितर्फ खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन् । जनजातितर्फ श्रेष्ठको छवि उच्च भएका कारण पनि जित्ने सम्भावना बढी भएको अर्का जिल्ला नेता बताउँछन् । उनका अनुसार जिल्ला सभापतिमा देशकै कान्छो सभापतिका रुपमा परिचित श्रेष्ठ युवाहरुको ढुकढुकी हुन् । नेविसंघ चितवन जिल्ला अध्यक्ष हुँदै चितवन जिल्ला सभापति भएका श्रेष्ठ छोटो समयमै राजनीतिमा आफूलाई केन्द्रीय स्तरको नेता बनाउन सफल भए । श्रेष्ठले द्वन्द्वकालमा चितवन जिल्लाको सबैभन्दा बढी प्रभावित क्षेत्र शक्तिखोरबाट राजनीति यात्रा सुरु गरेका हुन् ।
संस्थापन इतर पक्षका सभापतिहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका श्रेष्ठले केही दिन अघि उम्मेदवारी घोषणा गर्दा चितवन जिल्लाका एक हजार नेता कार्यकर्ताको उपस्थिति थियो । नेपाली कांग्रेसको आसन्न जिल्ला अधिवेशनमा उम्मेदवारीको दावी गरेकाहरु र पूर्व सभापतिहरुको सभामा श्रेष्ठले उम्मेदवारी घोषणा गरेका थिए । सबैको साथ र सहयोगले पनि उनले जित्ने सम्भावना प्रवल छ । जिल्लाले ७५ वर्षसम्म केन्द्रीय सदस्य नपाएकाले यस पटक आफ्नो जित सुनिश्चित रहेको श्रेष्ठ बताउँछन् ।

