चितवन । नेपाल सरकारले सूचीकरणबाट हटाएको गोरखनाथ ५०९ जातको धानको बीउ नियन्त्रणमा लिइएको छ । नारायणगढको कमलनगरस्थित स्वस्तिक ट्रान्सपोर्ट कम्पनीबाट ६० बोरा बीउ जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, चितवन र पत्रकारसहितको टोलीले आज (मंगलबार)बरामद गरेको हो ।
कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार नेपाल सरकारले सूचीकरण बाट हटाएको गोरखनाथ ५०९ जातको धानको बीउ बजारमा अवैध बिक्री वितरण भईरहेको गोप्य सूचनाको आधारमा अनुगमन गर्दा उक्त परिमाणमा धानको बीउ बरामद गरिएको हो ।
ज्ञानकेन्द्र श्रोतका अनुसार कोशी अर्गानिक मल विराटनगरबाट स्वस्तिक ट्रान्सपोर्ट कमलनगरको गोदामबाट उक्त परिमाणको अवैध गोरखनाथ ५०९ धानको बीउ बरामद गरेको हो । कोशी अर्गानिक मल धरान रोड विराटनगरबाट बीलबीजक जारी भई अवैध धानको बीउ चितवन पठाइएको थियो ।
कोशी अर्गानिक मलद्धारा जारी गरिएको बीउबीजकमा साझा एग्रोभेट सेवा रत्ननगर १ सौराहा चोकको नाममा २० बोरा , प्रशान्त एग्रोभेट खुरखुरेको नाममा १० बोरा , विनीता एग्रो सेन्टर , अमृतचोकको नाममा १० बोरा र एभरेष्ट एग्रो इन्टरनेशल विशालमार्ग नारायणगढको नाममा २० बोरा गोरखनाथ ५०९ जातको धानको बीउको बीलबीजक जारी पठाईएको श्रोतले जानकारी दिएको छ ।निशेधाज्ञाको मौका छोपी बीउबीजन अवैध रुपमा बिक्री वितरण भएको भन्ने गुनासो आएपछि नारायणगढ, पूर्वी चितवनको पदमपुर,खोलेसिमल र टांँडी बजारका एग्रोभेट पसलहरुमा टोलीले अनुगमन गरेको थियो ।