चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुष्पकमल दाहाल प्रचण्डले मंसिर १० गते चितवनमा भएको नेकपा एमालेको महाधिवेशनप्रति आफू सकारात्मक रहेको बताएका छन् ।
नारायणी नदी किनारको पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माणको शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले एमालेको महाधिवेशन नभनी केही दिनअघि नारायणी नदी किनारमा ठूलो मेला लागेका र देशभरका मानिसहरु आएको बताए । उनले भने, ‘यसलाई मैले नेगेटिभरुपमा लिएको छैन, सकारात्मकरुपमा लिएको छु, देशभरका मानिसहरुले भरतपुरको विकास देखेर गए ।
यसलाई नेगेटिभ लिएको छैन ।’ उनले अन्यलाई पनि चितवनको भरतपुरमा कार्यक्रम गर्न आग्रह गरे । उनले भने, ‘जजसले कार्यक्रम गर्नछ, चितवनमा गर्दा हुन्छ, कमसेकम यहाँको विकास त देख्न पाउनुहुन्छ ।’ अध्यक्ष प्रचण्डले भरतपुर महानगरमा तीव्ररुपमा विकास भइरहेको बताउँदै भने, ‘समग्र देशको केन्द्रभागमा रहेको कारणले यहाँ विकासको प्रचुर सम्भावना रहेको छ ।’
उनले नगरवनलाई आकर्षक पार्क बनाउने, शक्तिखोरमा सुरुङमार्ग बनाउने, मकवानपुर, चितवन र नवलपुरलाई जोडे आर्थिक क्षेत्रको हब बनाउने आफ्नो योजना रहेको बताए । शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘नारायणी नदी किनारलाई सि बीच मोडेलमा रुपान्तरणको लागि २९ करोडको लागतमा डिपिआर बनेको रहेछ, यो सानो रकम हो, थप योजनाअनुसार रकम आउँदै गर्छ यसको लागि मैले गर्नुपर्ने सबै काम पूरा गर्छु ।’

अध्यक्ष प्रचण्डले नारायणी नदी किनारमा बन्न लागेको सी बीच मोडेलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग र अन्य पूर्वाधार निर्माणको शिलान्यास गरेका थिए । उनले भरतपुरको तीव्ररुपमा विकास भइरहेको बताउँदै नारायणी नदी किनारलाई सिंगापुरको चर्चित पार्कसँग तुलना गर्दै त्यस्तो बनाउनसक्ने बताए ।
कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले २९ करोडको लागतमा सी बीच मोडेलमा आधारित रहेर नारायणी नदी किनारलाई पर्यटकीय नगरी बनाउन लागिएको बताइन् । उनले गत वर्ष नै डिपिआर तयार भएको बताउँदै अब धमाधम काम हुने बताइन् । उनका अनुसार नदी किनारमा फुट ट्रेलदेखि चिल्डेनपार्कसम्म बन्नेछ ।

