चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल निर्वाचन नहुने बताएका छन् । संसद् पुनःस्थापनका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको उनको भनाइ छ ।
चितवनका पत्रकारसँग आज कुराकानी गर्दै उनले निर्वाचनका लागि आयोग र राजनीतिक दलसँग सल्लाह गरेर मात्रै अघि बढ्ने बताए । अहिले निर्वाचनको टुङ्गो लागि नसकेको भन्दै उनले भने, “मलाई जहाँसम्म लाग्छ तत्काल निर्वाचन हुँदैन ।”
उनले संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट भएको सकारात्मक कामको गुन तिर्ने बताए । उनले भने, “यो तपाईंहरुले थाहा पाइराखेकै कुरा हो नि, संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको छ । त्यो बिर्सेका छैनौँ । अहिले न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयोग गर्छौँ” उनले थपे, “हामीले सहयोग हिजो पनि गरिहाल्यौँ नि, गठबन्धनको बैठक बसेर प्रधानन्यायाधीश अस्पतालमा बसेको समयमा कम्तीमा पनि बिदा बसेर कार्यवाहक तोक्नु राम्रो हुन्छ भनेर भनियो । त्यो पनि सहयोग नै गरेको हो ।”
सहयोग न्यायपालिकालाई सहयोग गर्दै जाने उनको भनाइ थियो । प्रधानन्यायाधीश डिस्चार्ज भएर आएको भन्दै उनले अब फेरि सत्ताधारी गठबन्धन दल बसेर सल्लाह गर्ने उनले बताए।
फरक प्रसङ्गमा अध्यक्ष दाहालले सरकारले यही मङ्सिर २८ गतेका लागि आह्वान गरेको संसद् बैठकले आफ्ना नियमित कामलाई अघि बढाउने बताए । एमालेले संसद् बैठक अवरुद्ध गर्ने भनेको छ नि भन्ने पत्रकारको प्रश्नमा उनले भने, “उहाँहरुले सुरुदेखि नै अवरोध गरिराख्नुभएको छ तर अधिवेशन पनि चल्यो, बजेट पनि प्रस्तुत भयो, पारित पनि भयो । त्यसैगरी चल्छ ।”
उनले थपे, “अहिले महाधिवेशन गरेपछि सकारात्मक हुन्छ कि भनेको त्यो पनि नहुने भो भन्ने कुरा आजको वक्तव्यबाट देखियो ।” पेल्ने भन्ने कुरा नभएको भन्दै उनले सदनबाट गर्नुपर्ने काम अघि बढ्दै जाने बताए ।

