चितवन । ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्ष ०७८-०७९ को चार महिनामा १ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले दिएको तथ्यांकअनुसार चालु आवको कार्तिक महिनासम्म १ करोड ६ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । यसमध्ये सबैभन्दा बढी कार्तिक महिनामा ३० लाख १६ हजार पांँचसय रुपैयाँ संकलन भएको छ भने सबै भन्दा कम भदौ महिनामा २३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यसैगरी श्रावण महिनामा २५ लाख ७३ हजार रुपैयाँ र असोज महिनामा २७ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भगवानराज थापाले कात्तिक महिनामा चाडपर्व परेसंँगै सवारी आगमनको चाप पनि बढ्ने र लापरवाही र ट्राफिक उल्लंघनका घटना बढी हुने भएकोले राजस्व संकलन पनि सोही अनुपातमा भएको जानकारी दिए ।
‘कात्तिकमा चाडपर्व र राजनीतिक गतिविधि पनि बढ्यो’ उनले भने, ‘वर्षाका कारण साउन महिनामा तुलनात्मक रुपमा अन्य महिनामा भन्दा ट्रक, ट्रिपर र मालबहाक सवारी कम चले ।’
सबैभन्दा बढी कारबाहीमा मोटरसाइकल
चालु आवको चार महिनाको अवधिमा सबैभन्दा बढी कारवाहीमा मोटरसाइकल परेको छ भने सबैभन्दा कम ट्याक्टर कारबाहीमा परेको छ । सो अवधिमा कार्यालयले ३ हजार ३०३ मोटरसाइकलबाट २७ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । ५८३ वटा ट्रयाक्टर कारवाहीबाट ५ लाख ३६ हजार पांँचसय रुपैयाँ संकलन गरेको थियो ।
यसैगरी चार महिनाको अवधिमा २ हजार ७३० वटा कारजीप काराहीबाट २५ लाख ८९ हजार रुपैयाँ, १ हजार ५४६ वटा बस माइक्रो काराहीबाट १४ लाख २२ हजार पांँचसय, दुईहजार २१३ वटा ट्रक टिप्पर कारवाहीबाट २३ लाख १३ हजार रुपैयाँ र एक हजार ३८१ टेम्पो तथा अन्य सवारीसाधनबाट १० लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ । ट्राफिक कार्यालयका अनुसार चितवन भएर दैनिक साना ठूला गरी २५ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।

