चितवन। चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ का ६५ बर्षीय वृद्ध गोपी प्रजाको हत्या गरेको अरोपमा सोहि स्थान घर भएकी ४५ वर्षीया काइली भन्ने सर्किना चेपाङलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
गत बैशाख ३१ गते इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित तिननम्बर पुलबाट अन्दाजी ५० मिटर तल खोल्सामा गोपी प्रजाको शव भेटिएको थियो । टाउकोमा चोट लागेको अवस्थामा प्रजाको शव भेटिएपछि चितवन प्रहरीले अनुसन्धान बढाएको थियो ।
अनुसन्धानको क्रममा स्थानीय सर्किना चेपाङलाई नियन्त्रणमा लिई उनलाई सोधपुछ गर्ने क्रममा उनले प्रजा माथी धारिलो हतियार प्रहार गरि घाईते अवस्थामा छोडेको बयान दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सरोज गिरिले जनाकारी दिनुभयो ।
घटनास्थल नजिक मृतक प्रजाले जबरजस्ती गर्न खोजेपछि प्रतिकार स्वरुप आफुले साथमा रहेको खुर्पाले टाउकोमा प्रहार गरेको उनले स्वीकार गरेको प्रवक्ता गिरिको भनाइ छ । महिलाको साथबाट धारिलो हतियार (खुर्पा) बरामद गरिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।