चितवन । जंगली बँदेलको आक्रमणबाट मृत्यु भएका माडी-८, तल्लो कान्तिपुर निवासी नवराज ढकालको परिवारलाई चितवन राष्ट्रिय निकुञ्जले नगद रु. १० लाख को चेक हस्तान्तरण गरेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अणनाथ बरालले मृतकको परिवारलाई भेटी सो राहत हस्तान्तरण गर्नुभएको हो । त्यसबाहेक राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले मृतकको परिवारलाई बैंक खातामार्फत रु. ५० हजार समेत प्रदान गरेको छ । राहत हस्तान्तरण कार्यक्रममा प्रमुख संरक्षण अधिकृत बरालसंगै अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायक र वडाका जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
मृतक ढकालको परिवारलाई माडी नगरपालिकाले २५ हजार रुपैंया, बैकुण्ठे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले रु २० हजार र अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले २५ हजार रुपैंया राहतस्वरुप प्रदान गरेका थिए । गत बैशाख १७ गते साँझ माडी ८, खरकट्टामा जंगली बदेलको आक्रमणबाट गम्भीर घाइते हुनुभएका ढकालको उपचारको क्रममा निधन भएको थियो ।