चितवन। नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी दिनुभएका नेता डा भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताउनुभएको छ । चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा मङ्गलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने बताउनुभएको हो ।
निर्वाचन परिणाम जे आए पनि स्वीकार्ने तर केन्द्रीय सदस्य भने नबस्ने नेता रावलको भनाइ थियो । रावल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धामा हुनुहुन्छ । प्रतिस्पर्धामा पराजित भए आफू केन्द्रीय समितिमा नरहने उहाँले घोषणा गर्नुभएको छ । अध्यक्ष ओलीले सोमबार मध्यराति सर्वसम्मतिका लागि भन्दै सार्वजनिक गरेको ३०१ जनाको सूचीमा रावलको नाम केन्द्रीय सदस्यमा राखिएको थियो। उहाँले विद्युतीय भोटिङ मेसिनमा आफ्नो नाम रहेको भन्दै त्यसमा आफ्नो उम्मेदवारी नरहेको प्रष्ट पार्नुभयो ।
एमाले पदाधिकारीका उम्मेदवारलाई स्वतः केन्द्रीय कमिटीको उम्मेदवारका रुपमा राखिएको छ । रावलले आफूले अध्यक्ष पदका लागि मात्र फारम भरेको स्पष्ट पार्नुभयो । रावलले देश, जनता र लोकतन्त्रको हितमा निरन्तर काम गरिरहने बताउनुभयो । बिहान ४ बजेदेखि सुरु भएको मतदान जारी छ ।

