काठमाडौं। ललितपुर कांग्रेस अधिवेशनअन्तर्गत अहिले सभापतिका लागि पुनः मतदान जारी छ । शनिबार भएको जिल्ला कार्यसमितिको निर्वाचनमा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि पहिलो र दोस्रो मत ल्याउने रामकृष्ण चित्रकार र जितेन्द्र श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ।
शनिबार चित्रकार, श्रेष्ठ र मिनकृष्ण महर्जन चुनावी प्रतिस्पर्धामा थिए । चित्रकारले पाँच सय चार, श्रेष्ठले चार सय ८२ र महर्जनले तीन सय ३२ मत ल्याएका थिए । चित्रकारलाई बहालवाला सभापति मदन अमात्य, श्रेष्ठलाई तरुण दलका सभापति जितजंग बस्नेत तथा महर्जनलाई उदयशमशेर राणाको समर्थन थियो । तर, महर्जनलाई उदयशमशेर पक्षले अन्तर्घात गरेको आरोप लागेको छ ।
ललितपुर प्रतिनिधिसभा १ को क्षेत्रीय अधिवेशनमा महर्जन चार १७ मत ल्याई महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । तर, सभापतिमा उठ्दा महर्जनले तीन सय मत पाएपछि राणा पक्षले घात गरेको आरोप लगाएको छ।
राणा पक्षले श्रेष्ठलाई मत खसाएको भन्दै आइतबार बिहान मतदानका क्रममा महर्जन पक्षले राणा पक्षमाथि आरोप लगाएपछि केही समय बबाल भएको थियो । सोही कारण सभापतिको दोस्रो चरणको मतदानमा महर्जन पक्षले चित्रकारलाई सहयोग गर्ने घोषणा गरेको छ।

