चितवन । बागमती प्रदेश ट्राफिक कार्यालयले ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनबाट दोब्बर राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म जम्मा १० करोड राजस्व असुल गरेको कार्यालयले यस वर्षको यो अवधिसम्म २१ करोड रुपैयाँ राजस्व असुल गरिसकेको छ । निषेधाज्ञाकै बीच ट्राफिक कार्यालयले उक्त राजस्व संकलन गरेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक शान्तिराम कोइरालाले बताए ।
‘हामीले यो वर्ष गतकोभन्दा डब्बल राजस्व संकलन गरेका छौं,’ उनले भने ‘ट्राफिक नियम उल्लघंन गर्ने २ हजार सवारी साधनबाट २१ लाख घुस दिएका थिए, त्यो लिएनौ र हामीले उनीहरूलाई कारवाही स्वरुप दण्ड जरिवाना गरायौं ।’ ४ लाख घुस त हामीले फिर्ता नै गर्यौ,’ उनले थपे ‘हामीले सेवामा समर्पित भएर गलत काम गर्नेलाई निरुत्साहित गर्दै काम गरिरहेका छौं ।’ गत वर्षको तुलनामा सवारी साधनको चाप बढेपनि दुघर्टनामा परि मर्नेको संख्या कम भएको हुंँदै गएको उनको भनाई छ ।