चितवन । नेकपा (एमाले)को दशौँ महाधिवेशन उद्घाटनका लागि महाधिवेशन स्थल नारायणी नदी किनारमा जनलहर उर्लिने क्रम सुरू भएको छ । आज बिहानैदेखि चितवनमा एमाले महाधिवेशनका लागि जनलहर सुरु भएको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिईन।
महाधिवेशन उद्घाटनमा सहभागी हुनका लागि पूर्व तथा पश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधि तथा नागरिकहरुको बाक्लो उपस्थिति रहेको रावलले बताए। चितवनबाट बाजागाजासहित जनसहभागिता हुने तयारी भइरहेको जिल्ला अध्यक्ष रावलको भनाइ छ । चितवनका सात वटै स्थानीय तहका ९८ वटा वडा, दुई वटा शाखा कमिटी तथा भातृ संगठनहरुबाट एक लाख मानिस उतार्ने गरी तयारी भएको जिल्ला अध्यक्ष रावलले जानकारी दिईन।
महाधिवेशन उद्घाटन हुनुपूर्व चितवनतर्फको नदीकिनारमा मानिसहरुको व्यापक सहभागिता हुन सुरु भइसकेको भन्दै सहभागीहरुलाई संयमित हुनका लागि जिल्ला अध्यक्ष रावलले आग्रह गरेका छन् । जिल्लाका मुख्य राजमार्ग र सहायक राजमार्गमा गरी ४५ बढी स्थानमा स्वागतद्वार निर्माण गरिएको भन्दै रावलले देशभरीबाट पाँच लाख मानिसहरु नदीकिनारमा उतार्ने बताए । महाधिवेशन उद्घाटनका लागि एमालेका नेताहरु चितवन आइसकेका छन् । आज दिउँसो नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भोलि र पर्सि सौराहामा हुनेछ ।

