चितवन । नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र ४ घण्टामै सक्ने गरी कार्यक्रम तालिका बनाइएको छ । एमाले चितवनकी अध्यक्ष पार्वती रावलका अनुसार दिउँसो साढे १२ बजे सुरु गरेर साढे ४ मै सक्ने योजना बनाइएको छ। रावलले कार्यक्रममा धेरै वक्ता नहुने तर शीर्ष नेतृत्वले सम्बोधन गर्ने बताउनुभयो।
महाधिवेशनको पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने छ । ‘उद्घाटनसत्र छोटो–मिठो बनाउने योजना बनेको छ । बाहिरी जिल्लाबाट आएकाहरुसहितको मुल जुलस विहान ११ बजेदेखि निस्कने छ,’ नेता रावलले भनुभयो , ‘जनजातिहरुको झाँकी, बाजा सहितको ¥याली पनि निस्कने छ ।’
जातीय संगठनहरुले टोल टोलबाट समन्वय गरी विभिन्न जनजातीको भेषभुषा सहितको ¥याली सहभागी हुने छन् । चेपाङ, थारु, गुरुङ, तामाङ, मगर लगायतका जनजातिको झाँकीहरु आउनेछन् ।
पोखरा, काठमाडौंबाट आएका कार्यकर्ता सहभागी भएको जुलुस आँपटारीबाट निस्कने छ । यसको नेतृत्व रावल आफैं तथा कृष्णभक्त पोखरेल लगायतले गर्नुहुने छ । पूर्वीनेपालबाट आउनेहरुको केन्द्रीय बस ट्रमिनलबाट जुलुस निस्कने छ । नेता काशिनाथ अधिकारी, विजय सुवेदी, जगन्नाथ थपलिया लगायतले त्यसको नेतृत्व गर्नुहुने छ ।
मुल जुलसहरुमा केन्द्रीय शीर्षनेताहरुको पनि सहभागिता हुनेछ । उद्घाटनस्थल नारायणी नदी किनारमा विहानैदेखि सर्वसाधरण, नेता, कार्यकर्ताहरुको चहलपहल बढेको छ । बन्दसत्र सौराहामा भोलि विहान साढे ८ बजेदेखि सुरु हुनेछ ।

