चितवन । चितवनको नारायणी किनारमा हुने नेकपा एमालेको १० औँ महाधिवेशनमा कुकुरसमेत परिचालन गरिने भएको छ। सुरक्षाको दृष्टिकोणले संवेदनशील मान्दै कुकुर परिचालन गर्ने प्रहरी स्रोतले जनाएको छ ।
शुक्रबारबाट सुरु हुने नेकपा एमालेको महाधिवेशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २ हजार ५ सय सुरक्षाकर्मी परिचालन हुने चितवन प्रहरीको भनाइ छ ।
नेपाल प्रहरीका एआईजी सहकुल थापा महाधिवेशन सुरक्षाका लागि बिहीबार चितवन पुगेका छन्। त्यहाँ तीन जना डीआईजी पनि सुरक्षामा खटिनेछन्।
बागमती, गण्डकी र लुम्बिनीका प्रहरी प्रमुख चितवनमै छन् । बागमती प्रदेशका प्रहरी प्रमुख डीआईजी प्रकाशजंग कार्की, गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनी र लुम्बिनीका प्रदेश प्रहरी प्रमुख डीआईजी प्रकाश अधिकारीलाई पनि चितवनमा खटाइएको छ। महाधिवेशनमा प्रहरीले डग स्निफिङ र ड्रोनबाट पनि सुरक्षा निगरानी गरिनेछ। महाधिवेशनको उद्घाटसत्रमा ५ लाख जनता उतार्ने दावी एमालेले गरेको छ ।

