चितवन । नेकपा एमालेका पुराना नेता कपिलदेब पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । चितवनमा हुने दसौं महाधिवेशनमा उनले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका हुन ।
चितवनमा नेकपा एमालेलाई स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका उनी २०३६ साल देखि नेपालको कम्युनिष्ट आन्दोलनमा सक्रिय छन् । २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिक यात्राको प्रारम्भ गरेका पोखरेल २०४६ सालको जनआन्दोलनको यातना पीडित समेत हुन ।
२०५० सालमा युवा संघको जिल्ला कमिटी अध्यक्ष बनेका पोखरेल २०५४ साल देखि पार्टीको जिल्ला कमिटी सदस्यमा रहेर जिम्मेवारी पुरा गर्दै आएका थिए । २०७४ साल देखि पार्टीको केन्द्रीय सदस्य रहेर कुशलतापूर्वक जिम्मेवारी निभाउदै आएका पोखरेल इमान्दार तथा निष्ठावान नेता हुन । उनी अहिले जिल्ला सहइन्चार्ज समेत हुन ।
पार्टीको दसौं महाधिवेशन सफल बनाउन सक्रिय रहेका पोखरेल महाधिवेशन मुल व्यवस्थापन समितिको सदस्य,खाद्य व्यवस्थापन समितिको संयोजक,कार्यालय व्यवस्थापन संयोजक तथा जनपरिचालन समिति सदस्य हुन । पार्टीको संगठन विस्तार,सदस्यता बृद्धि र पार्टी निर्माणमा नेतृत्वदायी भूमिका निर्बाह गर्दै आएका पोखरेलले दसौं महाधिवेशनबाट पुन केन्द्रीय सदस्यको पदमा उम्मेदवारी दिन लागेको बताए । अहिले पार्टी समस्यामा छ उनले भने यस्तो बेला पदमा बसेर पार्टीलाई मजबुत बनाउने काममा सक्रिय हुन चाहन्छु ।

