चितवन। चितवनमा बर्षासहित आएको हावाहुरीले केराखेतीमा लाखौंको क्षति गरेको छ । पूर्वी चितवनको कुमरोज , सलौली लगायतको क्षेत्रमा आएको हावाहुरीका कारण केरा खेतीमा लाखौंको क्षती भएको चितवन केरा उत्पादक कृषक संघका अध्यक्ष माधव घिमिरेले जानकारी दिए ।
अध्यक्ष घिमिरेका अनुसार खैरहनी नगरपालिका वडा नम्बर १२ , १३ र रत्ननगरको वडा नम्बर ५ मा लगाइएको केराखेतीमा हावाहुरीले क्षती गरेको हो ।
खैरहनी र रत्ननगरको दक्षिण क्षेत्रमा लगाइएको करिब ४५ बिगाहको केरा नष्ट हुदाँ करिब ९० लाख बराबरको आर्थिक क्षती पुगेको स्वर्णीम एकिकृत कृषक समूहका अध्यक्ष ऋषि गुरुङले बताए । अध्यक्ष गुरुङले समूहमा १७ जना कृषक आवद्ध भएको र हरेक किसानले लगाएको केरामध्य करिब ५ बिगाहको केरामा क्षती भएको जानकारी दिए । समूहमा आवद्ध प्रत्येक किसानहरुले १० बिगाहदेखी २० बिगाह जग्गामा केराखेती गर्दै आएका छन् ।
आफूले लगाएको केरामध्य करिब ८ हजार बोट केरा ढलेको जसको कारण करिब ३२ लाखको क्षती भएको गुरुङले बताए । बेच्नको लागि तयार हुन लागेको केरा नष्ट हुदाँ किसानलाई मार परेको छ । त्यस्तै १२ बिगाह क्षेत्रमा केराखेती गरेका अर्जुन चौधरीको करिब ४० प्रतिशत केराको बोट ढलेको उनले बताए ।