चितवन । उर्जामन्त्री पम्फा भुषालले अब खेती योग्य जमीनमा सिंचाईको सुविधा दिने बताएकी छिन् । आज भरतपुर महानगरले आयोजना गरेको समृद्ध भरतपुर महानगरका लागि विकास बहस कार्यक्रममा बोल्दै कृषिमा आत्मनिर्भर बन्नपनि सिंचाई सुविधा अपरिहार्य भएको बताईन् । जहाँ खेतीयोग्य जमीन हुन्छ त्यहांँ सिंचाई सुविधा हुन्छ । उनले भनिन् ।
उत्पादन बढाएर आत्मनिर्भर बनाउन र व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सिंचाई सुविधा हुनुपर्ने उनको भनाई छ । ‘सिंचाईलागि मेरो बिशेष ध्यान छ, यसले गरिबी न्यूनिकरण गर्न पनि मदत गर्छ ।’ उनले भनिन् ।
जलवायु प्रभावका कारण अहिले नारायणी र कर्णालीले क्षति पुरयाएको भन्दै नारायणी नदीको तटबन्दको लागि मात्र २३ अर्ब रुपैयांँको गुरुयोजना रहेको जानकारी दिइन् । ‘नारायणी नदीको १७ किलोमिटर तटबन्दको लागि ५ अर्ब छुट्याईएको छ , टेबुलमा छ ।’ उनले भनिन् । नारायणी नदीको तटबन्दको लागि यही चालुबर्ष भित्र काम अघि बढ्ने उनको भनाई छ ।
सो अवसरमा बोल्दै पर्यटन मन्त्री प्रेम बहादुर आलेले भरतपुरको अड्किएको भरतपुर विमानस्थलको काम गर्न आफू यहांँ आएको बताए । ‘हामी गोली गठ्ठा लिएर चितवन आएका छौं उनले भने मिसन पुरा गछौं।’
उनले भरतपुर विमानस्थलको क्षेत्रफल विस्तार गरेर स्तरोन्नतीको कामलाई छिटै पूर्णता दिइने दाबी पनि गरे ।
भरतपुर विमानस्थलको क्षेत्र विस्तार गर्न सेना व्यारेक र घोडा प्रजनन् केन्द्र स्थानान्तरण गर्न लागिएको उनको भनाई छ । ‘धेरै गाह्रो अप्ठ्यारो छैन, २०–२५ करोड बजेट भए पर्यटकको आकर्षण केन्द्र बन्नेछ’, उनले भने, ‘मन्त्रालयबाट सिफारिस गरेर द्रुत बजेट निकासा हुनेछ ।’
चितवनमा बोटानिकल पार्कको लागि पनि काम अघि बढाउने भन्दै उनले आफ्नो मन्त्रालयबाट अर्थमन्त्रालयलाई तत्काल सिफारीश गर्ने बताए । ‘हामी फाइट टु फिनीसमा छौ ।’ उनले भने । सरकारी कर्मचारीले बर्षको दश लिन पर्यटन प्रर्वद्धन गर्न दिईने छुट्टी छिट्टैनै लागु गरिने उनको भनाई थियो ।
सो अवसरमा बोल्दै राज्य मन्त्री उमेश श्रेष्ठले चितवनमा जस्तो अन्य जिल्लामा पूर्वाधार नभएको भन्दै समय अनुसार ऐन र नीतिमा परिवर्तन गर्दै लैजानु पर्ने बताए । कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले आफू मेयर भएपछिको सांँढे चार बर्षमा गरेको विकास निर्माण कार्यप्रगति र निर्माणधीन योजनाको बारेमा व्याख्या गरेकी थिइन् ।

