काठमाडौँ । काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेसँगै प्रदूषण पनि बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अरब सागरमा बनेको निम्न चापीय प्रणालीका कारण मौसम बदली हुँदा घाम लाग्न नसकेको र यसले चिसोसँगै प्रदूषणसमेत बढाएको छ।
निम्न चापीय प्रणालीको असर आज रातिसम्म देखिने र भोलिबाट मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको छ।
देशका अधिकांश भू-भागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुँवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएकोले सडक तथा हवाई यातायत क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन मशाशाखाले अनुरोधसमेत गरेको छ।
आज देशका अधिकांश भू-भागमा वदली भई उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावान रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
बिहान काठमाडौं उपत्यकामा हल्का घाम लागे पनि दिउँसो फेरि बदली हुने आँकलन महाशाखाले गरेको छ। प्रदेश १ र २ का केही क्षेत्रमा सुधार आइसकेको छ । पूर्वतिर क्रमश सुधार हुँदै जान्छ। तर मध्य नेपाल र पश्चिममा हल्का घाम लागे पनि बदली भइरहने देखिन्छ।
बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

