चितवन । जंगली बँदेलको आक्रमणबाट मृत्यु भएका माडी–८, तल्लो कान्तिपुर निवासी नवराज ढकालको परिवारलाई बैकुण्ठे सामुदायिक वन र अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले राहत स्वरुप आर्थिक सहयोग गरेका छन् ।
बैकुण्ठे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले बन्यजन्तुको आक्रमणबाट मृत्यु भएका ढकाल परिवारलाई रु २० हजार राहत सहयोग गरेको हो । सो वन उपभोक्ता समूहले हालै वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनुपरेका आफ्नो वन समूहको उपभोक्ताको परिवारलाई रु २० हजार तथा घाइते हुनेलाई उपचार खर्चको १५ प्रतिशत भुक्तानी गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुरुप माडीमै पहिलोपटक वन उपभोक्ता समूहका तर्फबाट राहत प्रदान गरिएको वन उपभोक्ता समूहका अध्यक्ष मोहन बहादुर अधिकारीले जानकारी दिनुभयो ।
त्यसैगरी, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले मृतक ढकालको परिवारलाई क्रियाखर्च बापत २५ हजार रुपैंया प्रदान गरेको छ । यसबाहेक जंगली जनावरको आक्रमणबाट ज्यान गुमाउनेको परिवारलाई चितवन राष्ट्रिय निकुञ्जले रु. १० लाख, राष्टिय प्रकृति संरक्षण कोष सौराहाले रु. ५० हजार तथा माडी नगरपालिकाले २५ हजार रुपैंया दिनुका साथ ५ लाखको शैक्षिक अक्षय कोष स्थापना गरिदिने गरेका छन् ।