नवलपुर । धार्मीक र पर्यटकिय दुबै रुपमा महत्त्व बोकेको देवचुली नगरपालिका ३ दुम्कौलीमा रहेको शाश्वतधाममा पर्यटकको आकर्षण बढ्दै गएको छ।
हालसम्म ३७ लाख ७० हजार ६ सय ३४ जना बढिले शाश्वतधामको अवलोकन गरिसकेका छन् । अहिलेसम्म ५० लाख बढिले अवलोकन गर्ने लक्ष्य राखिए पनि कोरोनाका कारण प्रभावित बनेको शाश्वतधामका एसिस्टेन्ट जनरल म्यानेजर अशोक घर्ती क्षेत्रीले बताए । उनले भने “कोरोनाको कारणले ठुलो असर पारेको छ । समूहमा विभाजन गरेर अवलोकनको व्यवस्था मिलाएका छौँ । अब बिस्तारै बढ्ने अपेक्षा गरेका छौँ ।”
दैनिक १ हजार जनाले धामको अवलोकन गर्ने गरेका छन् । सरकारले वेस्ट टुरिस्ट डेस्टिनेसनका रूपमा शाश्वतधामलाई अवार्ड दिइसकेको छ ।

यहाँ निर्मित कलाकृति र धार्मीक ईतिहासको दस्तावेजले धामको महत्त्व बढेको हो । टाढा–टाढाबाट शाश्वतधाम धाएर आएकाहरु यहाँ मिल्ने शान्ती र यहाँ निर्मित कलाकृति नै रहेको बताएका छन् । जसले आन्तरिक र बाह्य पर्यटकको रोजाईमा पर्ने गरेको छ ।
शाश्वतधाम अवलोकनका लागि आएकी बर्दियाकी कमला शर्माले यहाँ रहेका जातजातिको पहिचान झल्काउने भेषभुषा र अन्य कलाकृतिले मन लोभ्याएको बताईन । उनले भनिन् “मगर पोशाक, पुराना भाडाहरु सबै राम्रो लाग्यो ।”

पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको यस धामभित्र रहेको मनमोहक र वैभवयुक्त एकम्बरेश्वर शिवमन्दिर यहाँको प्रमुख आकर्षण हो । चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातिको समयमा यो मन्दिर पानीमा अडिएको भान हुन्छ । एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतीदेवीलगायतका थुप्रै हिन्दु देवी देवताका प्रतिमाहरू एकम्बरेश्वर मन्दिरसँगै छन् । मन्दिर अगाडि शिव प्रतिभक्तिभावको मुद्रासहितको लुंकरणदास चौधरीको शालिकसमेत निर्माण गरिएको छ । धामभित्र रहेका अखण्ड अग्निकुण्ड, यज्ञकुण्ड, शक्तिघाट, गौशाला, धर्मशाला, डिजिटल धार्मिक संग्रहालय आदिको अवलोकनबाट यहाँ पुग्ने जो कोही रोमाञ्चक अनुभूति गर्न सक्छन् ।
यहाँ रहेका अर्गानिकफार्म, अर्गानिक भोजनालय, आवासीय सुविधासहितको योग तथा ध्यान केन्द्र आदिको भरपुर उपयोग गर्न पाइने हुनाले यस मनमोहक स्थानमा पुग्ने जो कोहीले थकान र तनावबाट मुक्तिपाई आत्मिक शान्तिको महसुस गर्न पाउँछन् । आधुनिक भौतिक वादीयुगमा लोप हुँदै गएको सनातन धर्मको महत्व जोगाउन र मन्दिरमा दैनिक पूजाआजा तथा वैदिक कर्मकाण्ड अभ्यास गर्न शंकराचार्य कै सुझावबमोजिम यहाँ स्थापना गरिएको गुरुकुल अहिले वैदिककर्मकाण्ड अध्ययनको थलो बनेको छ ।यसका साथै काञ्चीकामाकोटी पीठ, कामक्षदेवी मन्दिर, पशुपतिनाथ मन्दिर, आर्ट अफलिभिङलगायतका धार्मिक संघ–संस्थासँग समन्वय गरी नेपालमा सनातनधर्म संस्कृतिको जगेर्ना, संरक्षण र जागरणका लागि शाश्वतधामले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

