चितवन । काँग्रेसको १४ औं महाधिवेशनका क्रममा हुने चितवन जिल्ला अधिवेशनमा राजेश्वर खनालले पनि सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । आज भरतपुरमा पत्रकार सम्मेलन गरी खनालले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । कुनै कारणवस मिति र ठाउँ नसरे काँग्रेस चितवनको जिल्ला अधिवेशन यही १० गते वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा हुनेछ ।
चितवन प्रेसले नेता राजेश्वर खनाललाई जिल्ला सभापतिमा तपाइँको उम्मेदवार किन ? भनेर प्रश्न गरेको थियो । नेता खनालले भने, ‘चितवनमा कांग्रेसको गुमेको विरासत फर्काउन, पार्टीलाई एकीकृत गर्दै संगठनलाई मजबुद बनाउन, समग्र चितवनलाई आर्थिक सामाजिक हरेक दृष्टिकोणबाट सबल, सक्षम र विकसित बनाउन, जिल्लामा कांग्रेसलाई पहिलो पार्टी बनाउन मेरो उम्मेदवारी हो ।’ उनले पाँच वर्ष सभापति बन्दा कुनै पनि पदको आकांक्षी नगर्ने बताए । उनले भने, ‘सबैलाई मिलाएर लैजान र क्षमताअनुसारको अवसर दिन पनि मेरो जिल्ला सभापति उम्मेदवारी हो ।’
को हुन् राजेश्वर खनाल ?
तनहूँ जिल्ला भानु नगरपालिका चँुदीमा बुबा कविराज सुर्यप्रसाद खनाल र आमा ज्ञानकुमारी खनालको कोखबाट २०२८ सालमा जन्मिएका राजेश्वर खनालको राजनीतिक यात्रा २०४१ सालबाट सुरु भएको हो । तनहुँ जिल्लाको चन्द्रावती मा.वि नेवि संघको सदस्य लिएसँगै उनको राजनीतिक यात्रा सुरु भएको हो ।
विद्यालय शिक्षा लिने क्रमसँगै नेवि संघ स्कुल अध्यक्ष र तनहूँ नेवि संघ सदस्य हँुदै २०४४ सालमा वीरेन्द्र वहुमुखी क्याम्पस चितवनमा बिज्ञान संकायमा भर्ना भएर नेविसंघ क्याम्पस एकाईको उपाध्यक्ष बने ।
तनहुँबाट आफ्नो राजनीतिक यात्रा पुनः चितवनमा प्रारम्भ गरेका खनालले २०४९ को स्व.वि.यू निर्वाचनमा वीरेन्द्र वहुमुखी क्याम्पसमा सचिव (१९ वर्ष पछिको ने.वि संघ विजयी), २०५१ सालमा सभापति निर्वाचित र २०५३ सालमा केन्द्रीय सदस्य भई ने.वि संघको संगठनलाई अब्बल बनाउने एक सफल नेतृत्व कर्ता बने खनाल ।
नेपालगञ्ज महासमिति बैठकबाट पुनः स्थापित नेपाल तरुण दल चितवनको २०५५ सालमा सचिव र २०५९ सालमा सभापति भई नेपाली काँग्रेस चितवनको संगठन निर्माणको एक कुशल संगठनकर्ता भए खनाल । २०४२ सालको सत्याग्रहमा तनहूँबाट, २०४६ सालको जन आन्दोलनमा चितवन र २०६२-६३ सालको लोकतान्त्रिक आन्दोलनमा काठमाण्डौँ गरी कूल ८ (आठ) पटक प्रहरी हिरासतमा बसेका थिए खनाल । नेवि संघको नेतृत्वमा रहँदा नेवि संघको र तरुण दलमा रहँदा काँग्रेस फलाउन सक्ने एक परिपक्व संगठनकर्ता थिए उनी ।

१३ औँ महधिवेशनमा चितवन साविक क्षेत्र नं. ३ बाट सर्वोच्च मत सहित महासमिति सदस्यमा निर्वाचित भएका थिए उनी । राजनीति जस्तै शिक्षा र समाजसेवामा पनि समान क्रियाशील राजेश्वर खनाल अर्थशास्त्र विषयमा एम.ए तथा गणित विषयमा बि.एड गरेका छन् । करिब १६ वर्षको शैक्षिक अनुभव पनि लिएका छन् उनले । चितवनको प्रतिष्ठित नारायणी ई. पब्लिक स्कुल तथा भरतपुर भ्याली कलेजको अध्यक्षसँगै हिसानको केन्द्रीय सदस्य भए ।
सामाजिक क्षेत्रमा रेडक्रस, रोटरी, भ्रष्टाचार विरुद्ध अभियान, क्षयरोग, परिवार नियोजन संघ, मितेरी फाउण्डेसन, नारायणी विकास समाज, गौं संरक्षण केन्द्र, प्रजातान्त्रिक विचार समाज, मैयाँदवी कन्या कलेजजस्ता संस्थाहरूमा आबद्ध भएका खनाल चितवनमा प्रभावशाली नेताको रुपमा आफ्नो छबी उच्च बनाएका छन् ।

