चितवन । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको घर घरमा पुगेर अवस्था बुझ्ने र औषधि प्रदान गर्ने कामको सुरुवात गरेका छन्। मंगलबार मेयरसहिको टोलीले वडा नं १० मा संक्रमितलाई भेट्ने र औषधि वितरण गर्ने काम सुरु गरेको छ।
होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई औषधिसहित हौसला आवश्यक पर्छ’, मेयर वनले भने, ‘स्थानीय सरकारको अनुभूति दिलाउने र संक्रमितलाई अभिभावकत्व प्रदान गर्न घरघरमै पुगेका हौँ ।’ टोलीमा नगरस्तरीय कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक केशव आचार्य, स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेल, सहसंयोजक नरहरि श्याम शर्मा,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका वैद्य देवेन्द्रकुमार यादव सहभागी थिए। ।
रत्ननगर नगरपालिकाले संक्रमितको अवस्था बुझ्न १६ वटै वडामा एक/एक जना स्वास्थ्यकर्मी तोकेको छ । यसबाहेक दैनिकजसो होम आइसोलेसनमा रहेका संक्रमितलाई फोन गरेर स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ। रत्ननगरमा अहिलेसम्म २०२ जना होम आइसोलेसनमा,२१ जना अस्पतालमा उपचाररत छन् । कोरोना संक्रमणका कारण रत्ननगरमा पाँच जनाको मृत्यु भएको छ ।इचितवन पोस्ट डटकमबाट