चितवन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दल र देश रुपान्तरणको लागि ४२ बुँदाको अवधारणापत्र सार्वजनिक गरेका छन् । ४२ बुँदाको अवधारणापत्रमा शर्माले १, २, ३ र ४ को नीति अवलम्बन गर्नमा जोड दिएका छन् ।
नेपाली कांग्रेस भरतपुर महानगरपालिका–७ ले आज चितवनमा आयोजना गरेको ‘दलमा रूपान्तरण, देश रुपान्तरणका लागि एवं ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रममा शर्माले १, २, ३, र ४ को नीति अवलम्बन गरे दल र देशमा रुपान्तरण आउने बताए ।
उनले भने, ‘१ भनेको कुनै व्यक्ति एक पटकभन्दा बढी राष्ट्रपति बन्न नपाउने । २ भनेको कुनै व्यक्ति दुई पटकभन्दा प्रधानमन्त्री बन्न नपाउने । ३ भनेको कुनै व्यक्ति तीन पटकभन्दा बढी मन्त्री बन्न नपाउने र ४ भनेको कुनै व्यक्ति चार पटकभन्दा बढी सांसद बन्न नपाउने हो ।
कार्यक्रममा उनले कांग्रेसले १, २, ३, ४ को नीति अपनाएर पार्टीभित्र रूपान्तरणको सुरुआत गर्नुपर्ने बताए । उनले भने, ‘ “एकपटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद भएपछि एग्जिट (बाहिरिनु) हुनुपर्छ ।” चार पटकसम्मको संसदीय कार्यकालभित्र सबै भए वा नभए पनि पछि लोभ गर्न नहुने उनको भनाइ थियो ।

