उदयपुर। उदयपुरको सदरमुकाम गाईघाट बजारमा सम्राट आयुर्वेदिक क्लिनिक सञ्चालकले जडीबुटी प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । निजी लगानीमा सम्राट आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका अनिल कटुवालले त्रियुगा नगरपालिका-१३ असारीमा ‘धनवन्ती आयुर्वेद उत्पादन तथा प्रशोधन केन्द्र’ भवन बनाउन लागेका हुन्।
एक दशकयता बजारमा आयुर्वेद औषधिको उत्पादन तथा बिक्री वितरण गर्दै आएका कटुवालले निजी प्रयासमा ६५ लाख रुपैँया लागतमा भवन निर्माण गर्न लागेका हुन् ।
आर्थिक अभावका कारण कतिपय बिरामीले उपचार गर्नै नसक्ने अवस्था हुने गरेकोले त्यस्ता बिरामीको निःशूल्क उपचारार्थ आयुर्वेदिक औषधि उपलब्ध गराउने उद्देश्यले प्रशोधन केन्द्र भवन बनाउन लागेको कटुवालले बताएका छन् । पैसा नुहने धेरै बिरामीलाई निःशुल्क औषधि दिन सकियोस् भनेर जडीबुटी प्रशोधन तथा औषधि उत्पादन गर्ने भवन बनाउन लागेको उनले बताए ।
उनको यो कार्यमा धनवन्तरी जडीबुटी अभियानको साथ रहेको कटुवालले बताए । आफ्नै घर वरिपरि पाइने बिभिन्न किसिमका औषधिजन्य जडीबुटी र वनस्पतिको उपयोग गर्दै आयुर्वेद औषधि बनाएर मानव स्वास्थ्यमा महत्वपूर्ण योगदान गर्न सकिने भएकाले यो अभियानमा आफू जोडिएको उनी बताउँछन् । आउँदो ३ महिनाभित्र सक्ने लक्ष्यका साथ भवन निर्माण थालिएको उनले बताए ।