चितवन । नेकपा (माले)का माहासचिव सिपी मैनालीले मालेलाई जनताको पार्टी बनाउने बताएका छन् ।आज चितवनमा सम्पन्न महाधिवेशनपछि महासचिव मैनालीले पत्रकारसँग कुरा गर्दै मालेलाई जनताको पार्टी बनाउने बताएका हुन् ।
नयाँ शक्तिलाई लिएर देश, जनताको आवश्यकताअनुसार देश र जनताले मागेअनुसार परिवर्तन दिने पार्टीको रुपमा मालेलाई अघि बढाउने उनले प्रतिबद्धता व्यक्त गरे । अहिलेको बाटो सबै कम्युनिष्टको माक्सवादी बाटो रहेको भन्दै उहाँले गलत सोच लिएर हिँड्नेले देशका लागि काम गर्न नसक्ने बताए ।
अहिलेको संसदीय व्यवस्था खारेज गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउन मालेको योजना रहेको उनको भनाइ थियो । उनले भने, “राजनीतिलाई देशमुखी, भ्रष्टाचार मुक्त, देशका समस्या समाधान गर्नुपर्ने मालेको मुद्दा रहनेछ ।” यस्ता कामले र मुद्दाले पार्टीलाई बलियो बनाउने उनले विश्वास व्यक्त पनि गरे ।
नेकपा (माले)को महासचिवमा फेरि सिपी मैनाली आएका छन् । मालेको चितवनमा भएको आठौँ राष्ट्रिय महाधिवेशनले महासचिवमा सिपी मैनालीलाई चयन गरेको हो ।