चितवन। चितवनमा आज निषेधाज्ञा उल्लंघन गर्ने २४० वटा सवारी साधनलाई चितवन प्रहरीले कारबाही गरेको छ ।
जिल्लाका बिभिन्न स्थानबाट उनिहरुलाई कारबाही गरिएको हो । कारबाहीमा परेका मध्ये २१८ वटा दुई पाङ्ग्रे तथा २२ वटा अन्य सवारी साधन रहेका छन् । निषेधाज्ञाको उल्लंघन गर्ने २४० वटा सवारी साधनबाट १ लाख १३ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको छ ।
त्यस्तै निषेधाज्ञा उल्लंघन गर्दै पसल सञ्चालन गर्ने २४ जना सञ्चालकहरुलाई प्रहरीले कारबाही गरेको छ । कारबाहीमा परेका सञ्चालकहरुबाट ६ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरिएको छ ।
तोकिएको समय भन्दा अन्य समयमा पसल सञ्चालन गरेकोले उनीहरुलाई कारबाही गरिएको चितवनका प्रहरी प्रबक्त्ता डिएसपी सरोज गिरीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा दिने बाहेकका पसलहरु सञ्चालनमा रोक लगाएको छ ।
यस्तै निषेधाज्ञामा अनावश्यक रुपमा हिडडुल गर्ने ३७० जनालाई एक घण्टा होल्ड गरेर छाडिएको छ ।नियन्त्रणमा लिएका सवारी साधनलाई २४ घण्टा होल्डमा राखी जरिवाना गरि छाडिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।