चितवन । नेकपा (एमाले) चितवनले आज शनिबार तीन ठाउँबाट महाधिवेशन प्रतिनिधि छनौट गर्ने भएको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं महाधिवेशनको लागि खैरहनी, भरतपुर र पटिहानीबाट प्रतिनिधि छनौट गर्ने एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिइन् ।
अध्यक्ष रावलका अनुसार चितवनमा एकैदिन आज तीन वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनौट हुनेछ । क्षेत्र नं १ को खैरहनी पार्टी भेनु, क्षेत्र नं २ को जिल्ला पार्टी कार्यालय भरतपुर, क्षेत्र नं ३ को मनमोहन स्मृति भवन पटिहानीमा महाधिवेशन प्रतिनिधि छनौट हुने अध्यक्ष रावलले बताइन्। उनका अनुसार चितवनमा १६ हजारभन्दा बढी नवीकृत संगठित सदस्य रहेका छन् । चितवनले कम्तीमा ३० प्रतिनिधि महाधिवेसनको लागि छनौट गर्नेछ ।
कात्तिक २७ गते बिहान ९ देखि १२ बजेसम्म तीन वटै क्षेत्रबाट प्रतिनिधि बन्न चाहनेले मनोनयन दर्ता गर्न सक्नेछन् । जिल्लाभरिका दलितका लागि जिल्ला पार्टी कार्यालय भरतपुरमा मनोनयन दर्ता गर्ने व्यवस्था गरिएको छ । सदस्यताको आधारमा जिल्लाबाट कम्तीमा २८ जना प्रतिनिधि छनौट हुनेछन् । सदस्यता नवीकरण गर्नेको संख्या बढ्दै गइरहेको हुनाले प्रतिनिधिको संख्या बढ्न सक्नेछ । प्रतिनिधि छनौटमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । दुई जना दलित प्रतिनिधि अनिवार्य रहनेछन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १ हजार २ सय पार्टी संगठित सदस्यबाट कम्तिमा एक महिलासहित ३ जना महाधिवेशन प्रतिनिधिका रुपमा चुनिने व्यवस्था रहेको छ। जिल्ला र विशेष जिल्ला अन्तर्गत ५ सयसम्म दलित सदस्यमध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि आउनेछन् । तीन प्रतिनिधिमध्ये एक महिला अनिवार्य हुने व्यवस्था गरिएको छ ।
हरेक केन्द्रीय सल्लाहकार परिषद्बाट १५ जना र प्रदेश र सो सरहका कमिटीबाट कम्तीमा दुई महिलासहित पाँच जनाका दरले प्रतिनिधि आउनेछन् । एमाले केन्द्रीय कार्यालयको अनुसार पार्टीको संगठित सदस्यको संख्या सात लाख २८ हजार रहेको बताइएको छ ।
नेकपा एमालेका १० औं महाधिवेशन आगामी मंसिर १० गतेबाट १२ गतेसम्म चितवनमा हुँदैछ । चितवनमा वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका छन् ।

