चितवन । चितवन उद्योग संघले जिल्लामा रहेका उद्योगहरुमा प्रयोग गरिएका अक्सिजन सिलिण्डर संघमा जम्मा गरिदिन अनुरोध गरेको छ। कोभिड सङ्क्रमणसँगै सिलिण्डर अभाव हुने देखिएपछि संघले जम्मा गर्न थालेको संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले जानकारी दिए। उनका अनुसार बिहीबारदेखि अक्सिजन ग्यास प्रयोग गर्ने उद्योगमा टेलिफोन गरेर सिलिण्डर संघमा पठाइदिन अनुरोध गरिएको हो।
जिल्लाका ४० भन्दा बढी उद्योगमा अक्सिजन ग्यास प्रयोग हुने गरेको उनको भनाइ छ। ती उद्योगबाट ५० भन्दा बढी सिलिण्डर सङ्कलन हुने अपेक्षा गरिएको छ। संघका अध्यक्ष राजु पौडेलले जिल्ला प्रशासन कार्यालय चितवन र उद्योग परिसंघको आग्रहपछि उद्योगीसँग रहेका सिलिण्डर सङ्कलन गर्न लागिएको बताए। कतिपय सिलिण्डर उद्योगबाटै अत्यावश्यक ठाउँमा पठाउने विषयमा पनि छलफल भइरहेको उनले बताए।
अक्सिजनको माग घट्दै गएपछि फिर्ता मागेर सम्बन्धित उद्योगमा पठाइने उनले बताए। अध्यक्ष पौडेलले भने, ‘हामी यो मानवीय कार्यमा सक्दो सहयोग गर्छौँ।’ कोरोनाको पहिलो लहरमा पनि चितवन उद्योग संघले अस्थायी अस्पताल स्थापनाका लागि प्रदर्शनी हल उपलब्ध गराएको थियो। रासस