काठमाडाैं। नेपालमा १औँ राष्ट्रिय जनगणनाकाे मूल गणना आज बिहीबारबाट सुरु हुँदैछ । बिहीबार बिहान ९ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट १२औँ राष्ट्रिय तथ्यांक संकलन कार्यक्रमको सुरुवात हुनेछ । त्यससँगै उपराष्ट्रपति र प्रधानमन्त्रीसहित देशैभर जनगणना सुरु गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।
नेपालमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुन्छ । तर, यो पटक कोरोनाका कारण ढिलोगरी जनगणना भइरहेको हो । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछिको पहिलो जनगणनाको मूल नारा– ‘मेरो गणना, मेरो सहभागिता’ तय भएको छ । मूल गणना ९ मंसिरमा सम्पन्न हुनेछ ।
०७९ सम्ममा मुख्य प्रतिवेदन प्रकाशित गर्ने र ०८० भित्र सबै क्षेत्रगत र विषयगत प्रतिवेदन पनि प्रकाशित गरिने विभागले जानकारी दिएको छ ।
देशभित्र रहेका सबै घरपरिवार तथा व्यक्तिको तोकिएको समयसीमाभित्र गणना गर्नका लागि करिब ४० हजार गणक तथा आठ हजार पाँच सय सुपरिवेक्षक परिचालन हुँदै छन् ।
जनगणना अघिल्लो जनगणनाभन्दा निकै खर्चिलो हुने भएको छ । ११औँ जनगणना करिब डेढ अर्ब खर्च भएको थियो । तर, यस पटक ४ अर्ब खर्च हुने अनुमान गरिएको छ । खर्च बढ्ने पहिलो कारण यस पटक पूरा तलब दिएर गणकलाई खटाइएको छ ।


