चितवन । शिक्षकहरुका लागि शिक्षक अस्पताल बनाउन चितवनमा जग्गा खोजी गरिने भएको छ । मन्त्रिस्तरीय बैठकले सोमबार शिक्षक अस्पतालका लागि जग्गा व्यवस्थापन गर्न समिति गठन गरेपछि सो समितिले चितवन, काठमाडौँलगायतका मुख्य शहरमा जग्गा खोजी गरिने जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार जग्गा व्यवस्थापनका लागि डा विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ । जग्गा खोज्न दुई महिनाको समय दिइएको छ । मन्त्रालयले उपयुक्त जग्गा व्यवस्थापन हुनेबित्तिकै काम सुरु हुने बताएको छ ।
समितिले उपयुक्त जग्गा पाएपछि त्यसको विवरण मन्त्रालयलाई बुझाउने भएको छ । शिक्षक अस्पताल बन्ने भएपछि देशरभरका करिब तीन लाख बढी शिक्षकहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत शिक्षक अस्पताल बनाउन बजेट विनियोजन गरेका थिए ।

