चितवन । चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक बर्ष ७८/७९ को तीन महिनामा वन्यजन्तुहरुबाट भौतिक तथा मानवीय क्षति भएका पीडित परिवारले ५२ लाख बढी राहतको माग भएको छ । निकुञ्जका अनुसार चालु आवको साउनदेखि असोजसम्म कुल ५२ लाख ४१ हजार १५३ रुपैंया बराबरको राहत माग आएको हो ।
निकुञ्जले सातवटा शिर्षकमा राहत माग भए अनुसार राहत सिफारीश समितिको निर्णय अनुसार राहत वितरण गर्दै आएको छ । जसअनुसार आश्विन महिनामा सामान्य घाईतेलाई २३हजार ९३३ रुपैंया, राहत माग भएको छ । साउन र भदौमा कुनैपनि राहत माग गरिएको छैन । यस्तै सख्त घाईते भएका पीडित परिवारलाई भाद्र महिनामा २ लाख रुपैंया राहत माग भएको छ । अन्य दुई महिनामा कुनै पनि राहत रकम माग भएको छैन । वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका पीडित परिवारले भाद्र महिनामा १० लाख रुपैंया र असोज महिनामा ३० लाख रुपैंया राहत रकम माग गरेको निकुञ्जले जनाएको छ ।
यस्तै पशुधनको क्षतिबाट श्रावण महिनामा १ लाख २३ हजार सातसय ,भाद्र महिनामा ८ हजार ४सय ,र असोज महिनामा ५ लाख ४२ हजार ७२० रुपैंया , घरगोठ क्षतिबाट निकुञ्जले श्रावण महिनामा २७ हजार ५००, र अन्नबालिको क्षतिबाट निकुञ्जले श्रावण महिनामा ९१ हजार १०० रुपैंया र भदौ महिनामा २ लाख २३ हजार ८सय रुपैयांँ माग गरिएको जनाएको छ । तीन महिनाको अवधिमा ११४ वटा घटना भएका थिए । जसअनुसार सामान्य घाईते र सख्त घाईते १÷१ जना र वन्यजन्तुको आक्रमणबाट ४ जनाको मृत्यु भएको थियो । यस्तै उक्त अवधिमा १०८ वटा भौतिक तथा पशुधन क्षति भएको थियो । जसमध्ये ५२ वटा पशुधन क्षति,घरगोठको क्षति तीनवटा र अन्नबालीको क्षतिका घटना ५३ वटा भएका थिए ।
कार्यालयका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेश प्रसाद तिवारीले यसमध्ये २९ लाख रुपैंया बराबरको राहत पीडित परिवारलाई हस्तान्तरण गरिएको र अन्य राहत रकम प्रक्रियामा रहेको जानकारी दिए । ‘हामीले जहिले पीडित परिवारबाट क्षतिको राहत माग हुन्छ ,सोही अनुसार रेकर्ड राखेर समितिले घटना र क्षतिको अध्ययन गर्छ र राहत दिने निर्णय गर्छ ।’ तिवारीले भने ।
सबैभन्दा बढी क्षति चितुवाबाट

यी सबै घटनाबाट सबै भन्दा बढी चितुवाले क्षति गरेको पाईएको छ । चितुवाले आहाराको खोजीमा मानववस्तीमा गएर मानवीय तथा पशुधन क्षति गर्ने गरेको तिवारीले बताए । उनका अनुसार मानव वस्तीमा रहेका चौपायाहरु बांँधेर राखिने र आक्रमण गर्न सजिलो भएकोले निकुञ्जका वरपरका वस्तीहरुमा चितुवाले आक्रमण गर्ने गर्दछ । ‘चितुवा अन्य जनावरभन्दा बढी चलाख हुन्छ , उनले भने, हात्ती गैंडाले बढी अन्नबाली क्षति गर्छन भने चितुवा र बाघले मानवीय र पशुधन क्षति गर्ने गर्दछ ।

