मानिसले भविष्यको योजना बनाउने कुरा सामान्य हो । तर त्यसरी भविष्यको योजना बनाउने प्राणीमा मान्छे मात्रै पर्दैन । मानिस बाहेकका थुप्रै प्राणीहरुले भविष्यको योजना बनाउने गर्छ । उदाहरणको लागि, लोथर्के, कमिला, मौरी लगायतका जीवजन्तुको नाम लिन सकिन्छ । त्यसैगरी, कागले पनि भविष्यको योजना बनाउने गर्छ । उसले त्यसरी भविष्यको योजना बनाउँदा आफ्ना लागि मात्रै सोच्दैन, अरु कागहरुका बारेमा पनि सोचविचार गरिरहेको हुन्छ ।
उदाहरणको लागि, कागले खाना फेला पारेपछि वरिपरिका अरु जनावरहरुले देखिरहेका छन् कि छैनन् भनेर चनाखो भई यताउति हेर्ने र खाना त्यतै वरपर लुकाएको जस्तो गर्ने गर्छ । तर वास्तवमै कागले खाना जमीनमा वरपर हैन, आफ्नो पखेटामुनि लुकाएको हुन्छ । त्यसपछि काग उडेर अरु कसैले नदेखेको गोप्य ठाउँ खोज्न जान्छ र आफूले खोजेको खानेकुरा लुकाउँछ । एउटा कागले अर्को कागले खानेकुरा लुकाइरहेको देख्यो वा फेला पर्यो भने खानेकुरा पखेटामुनि लुकाएर झुक्याउने खेललाई उसले बुझिसकेको हुन्छ र त्यो क्रियाले उसलाई मुर्ख बनाउन सकिँदैन । त्यस अवस्थामा त्यो कागले आफूले केही नदेखेको जस्तो अभिनय गर्दै खानेकुरा लुकाउने कागलाई पछ्याएर उसको नयाँ ठाउँ पत्ता लगाउने गर्छ । (अन्य अनलाईनबाट साभार गरिएको)

