चितवन । रत्ननगर उद्योग वाणिज्य संघले कोरोना नियन्त्रणको लागि अग्रपंक्तिमा खटिने प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
संघले इलाका प्रहरी कार्यालय रत्ननगरमा मास्क, सेनिटाइजरलगायत पिउने शुद्धपानी एवं खाजा सामग्री सहयोग गरेको हो । सोमबार आयोजित कार्यक्रममा संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शंकर गिरीले डिएसपी इन्द्रबहादुर रानालाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा संघका अध्यक्ष श्रेष्ठले कोरोना नियन्त्रणको लागि प्रहरीले खेलेको भूमिका अहम् रहेको भन्दै कार्य गर्ने सिलसिलामा प्रहरीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरिएको बताए ।
संघका वरिष्ठ उपाध्यक्ष गिरीले जनताको जनधनको सुरक्षामा अहोरात्र खटिएका राष्ट्रसेवक सुरक्षाकर्मीको मनोवल उच्च पार्न तथा संकटमा हामी साथैमा छौँ भन्ने सन्देश प्रवाह गर्न सामग्री सहयोग गरिएको बताए ।