चितवन । रत्ननगर नगरपालिकाले दुई ठाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र निर्माण गरेको छ । कोरोनाको महामारी बढ्दै गएपछि सो नगरपालिकाले वडा नं १६ वडा कार्यालयको सभाहलमा २० बेड र रत्ननगर अस्पतालमा ८ बेडको आइसोलेसन केन्द्र तयार गरी सञ्चालनमा ल्याएको हो ।
होम आइसोलेसनमा बस्ने वातावरण नभएका संक्रमितलाई राख्ने गरी वडा कार्यालयको सभाहल र अस्पतालमा आइसोलेसन तयार गरिएको मेयर नारायण वनले जानकारी दिए । नगरपालिकाले तयार गरेको आइसोलसनमा संक्रमितको उपचारको लागि स्वास्थ्यकर्मी र औषधिको समेत व्यवस्था गरिएको छ ।
कोरोनाको दोस्रो लहर सुरू भएपछि वैशाख १ गते यता रत्ननगरमा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको र सोमध्ये ९ जना अस्पतालमा उपचारत रहेको र ९९ जना होम आइसोलेसनमा रहेको रत्ननगरका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए ।