चितवन। तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल शुरू भएको छ । तिहारका लागि व्यवसायीहरुले आवश्यक झिलिमिली बत्तीहरू सजाउन थालिसकेका छन् । हरेक वर्ष तिहारकै लागि भनेर चितवनमा करोडौंको सजाउने माला र झिलिमिली बत्ति आयात हुने गर्दछ । तर यो वर्ष कोभिडका कारण झिलिमिली बत्तीको आयातमा निकै गिरावट आउँदा बजारमा भनेअनुसार बत्ती उपलब्ध गराउन नसकेको चितवनका व्यवसायीहरु बताउँछन् ।
यो वर्ष कोभिडले गर्दा विविध समस्या उत्पन्न भएको हुँदा कम विद्युतीय बत्ती अर्डर भएको हो । जसमा सामान्य अवस्थाको तुलनामा स्थिति सहज नहुँदा ६० प्रतिशतले आयातमा गिरावट आएको व्यवसायीहरुकोे भनाई छ ।
कोरोना महामारीको समय भएकोले तिहारमा आवश्यक सामग्रीको आयात कम भएसँगै झिलिमिली बत्तिको मूल्य पनि बढेकोे व्यवसायीहरु बताउँछन् ।
गत वर्ष विगतको वर्षमा कायम भएको मूल्य नै कायम भएको थियो । तर, यो वर्ष भने हरेक झिलिमिली बत्तीमा ३५ प्रतिशतसम्म मूल्य बढ्ने भएको नारायणगढका व्यवसायी उत्तम सापकोटाले बताए ।

‘अधिकांश झिलिमिली बत्ती चीन र भारतमाबाट आयात हुने गर्दछ । चीनमा कच्चा पदार्थको अभाव भई मूल्य बढेको ,साथै, कोभिडले गर्दा आयातमा सहज हुन नसकेको र व्यवसायीहरूले चीनमै गएर वस्तुको अर्डर गर्न नसक्दा बजारमा पर्याप्त मात्रामा आयात नभएकाले मूल्य बढेको उनले बताए ।
उनकाअनुसार बजारमा तिहारलक्षित पर्याप्त झिलिमिली बत्तीको आयात हुन नसक्दा खुद्रा व्यापारीले महंगो मूल्यमा बिक्री गर्नुपर्ने र उपभोक्ताले महंगो मूल्यमा खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
बजारमा तिहारलक्षित विभिन्न प्रकारका लाइट भित्रिने गर्दछ । हाल बजारमा सबैभन्दा धेरै एलईडी लाइट, एलईडी डिस्को लाइट, एलईडी फ्रेम लाइट, नेट झालर, दियो, स्ट्रप लाईट अत्याधिक बिक्री हुने गर्दछ । उक्त लाइटहरूको मूल्य करिब डेढ सयदेखि २५ हजारसम्मको मूल्यमा बिक्री हुने गरेको उनको भनाइ छ ।
हाल आयातकर्ताहरूले तिहारको बत्तीहरूको आयात गरिसकेको र खुद्रा बजारमा व्यापारीहरूले बिक्री शुरू गरिसकेका नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ ।
महासंघका महासचिव कमल पोखरेलले सामान्य अवस्थामा वार्षिक १ अर्बभन्दा बढी विद्युतीय बत्ति नेपालमा आयात हुने र उक्त आयातित बत्ती तिहारमा मात्रै ८० प्रतिशत खपत हुने बताए । अन्य २० प्रतिशत झिलिमिली बत्ती क्रिसमस, नयाँवर्ष तथा विवाहभोजमा र अन्य मौसममा बिक्री हुने पोखरेलको भनाई छ ।
झिलीमिली बत्ती र फूलको चाडपर्व भनेर चिनिने तिहारका लागि अधिकांश व्यापार व्यवसायीले सम्पूर्ण सामग्री तयार गरिसकेका छन् । तिहारको मुख्य विशेषता भनेको मखमली फूल, माटाका पाला तथा विद्युतीय बत्ती (झिलिमिली बत्ती) हो ।

