चितवन । जो सदैव बाबुनानीको भविष्य बनाउन व्यस्त भइन् । हरेक बाबुनानीको गुरुआमा बनिन् । हरेक बाबुनानीलाई असल गोरेटो देखाइन् । बाबुनानीको भविष्य कोर्दाकोर्दै तिनै ‘गुरुआमा !’ सधैँको लागि अस्ताइन् ।
भरतपुरको कल्याणपुरमा बोलेरोको ठक्करबाट सबै बालबालिकाका गुरुआमा भरतपुर ५ विकास चोककी सुलोचना पोख्रेल ढकाल अस्ताइन्। उनी सवार स्कुटरलाई बोलेरोले ठक्कर दिँदा ढकालको निधन भएको हो ।
ना ६० प ९९०७ नम्बरको स्कुटरमा सवार ढकाललाई ब ३ च ४०३८ नम्बरको बोलेरेले शुक्रबार दिउँसो दुई बजे कल्याणपुरमा ठक्कर दिएको हो। गुञ्जानगर मावि भरतपुरकी गुरुआमा ढकाल विद्यालयकी सबै बालबालिकालाई रुवाएर गइन् । विद्यालयका प्रधानाध्यापक सूर्यभक्त वाग्लेका अनुसार विद्यार्थीकी प्रिय, दक्ष, सिपालु अनि अतिरिक्त क्रियाकलापमा सक्षम शिक्षक थिइन् सुलोचना ।
भरतपुर २६ भगडीको स्कुलबाट एक वर्षअघिमात्र गुञ्जनगर माविमा आएकी थिइन् । विशालचोकबाट स्कुटीमा स्कुल जाने गर्थिन् । शुक्रबार स्कुलबाट फर्किदा उनी दुर्घटनामा परेकी हुन् । उनको प्राविको स्थायी दरबन्दी थियो । फेसबुकमा आशिक पोख्रेल लेख्छन्, ‘कलिला बाबुनानीको भविष्य कोर्दाकोर्दै यस्तो दुःखद घटना घट्यो । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस्।’ फेसबुकमा चिरन्जीवी पोख्रेल लेख्छन्, ‘सुलोचना शिक्षक पेशा र समाजसेवामा लागेर सबैको नानी बनेकी थियौँ ।’

